यूएई – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच प्रस्तावित दोहोरो कराधान निवारण सम्झौता सम्बन्धी औपचारिक छलफल मंगलबारदेखि यूएईमा सुरु भएको छ ।
छलफलमा सहभागी हुन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसाल सहितको नेपाली प्रतिनिधिमण्डल सोमबार यूएई आइपुगेको थियो ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री पनि छलफलमा सहभागी छन् । प्रस्तावित सम्झौताको मुख्य उद्देश्य नेपाल र यूएई दुवै देशसँग सम्बन्धित एउटै आम्दानीमा दोहोरो कर लाग्ने अवस्था हटाउनु, कर सम्बन्धी स्पष्टता प्रदान गर्नु तथा २ देशबिच व्यापार र लगानीलाई प्रोत्साहन गर्नु हो ।
छलफलमा कर निवास, स्थायी व्यावसायिक प्रतिष्ठान, लाभांश, ब्याज, रोयल्टी, सेवा शुल्क, स्रोतमा कर कट्टी, करसम्बन्धी सूचना आदानप्रदान तथा कर विवाद समाधानजस्ता विषय समेटिने अपेक्षा गरिएको छ ।
सम्झौता सम्पन्न भएर कार्यान्वयनमा आएपछि नेपाल र यूएईबिच व्यवसाय सञ्चालन गर्ने कम्पनी, लगानीकर्ता तथा अन्य करदातालाई करसम्बन्धी निश्चितता प्राप्त हुने र द्विपक्षीय लगानी तथा आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अहिलेको बैठक सम्झौताको प्राविधिक तथा नीतिगत छलफलको चरण हो । छलफलपछि दुवै पक्षले मस्यौदामा सहमति जुटाई आवश्यक सरकारी स्वीकृति, हस्ताक्षर तथा कार्यान्वयनको प्रक्रिया पूरा गर्नुपर्नेछ ।




प्रतिक्रिया