काठमाडाैं– नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ।
सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच, दुर्इ देशबीचकाे शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन्। अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई “ऐतिहासिक र सुखद्” भनेको छ।
दुई देशको शिखर बैठकले जनताको शान्ति र सम्वृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ।
ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ।
त्यसैगरी अष्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशका रुपमा लिइएको बताएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडी बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया