सेनासंग माओवादी रुष्ट, सेना माओवादीसंग असन्तुष्ट


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा हाल अष्ट्रेलिया भ्रमणमा छन् । सरकारले उनको भ्रमणलाई असार ३१ बसेको मन्त्रिपरिषद्को बैठकले स्विकृती दिएको हो ।

सरकारले नै स्विकृती दिएअनुसार उनि करिव दुई साता अष्ट्रेलिया भ्रमणमा हुनेछन् । उनी ३ दिनको कार्यक्रम सकेर पारिवारिक काममा सहभागि हुनेछन् । शर्मा ‘एनुअल चिफ डिफेन्स कन्फ्रेन्स’ मा भाग लिन त्यंहा पुगिसकेका छन् । उक्त कन्फ्रेन्स अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डले आयोजना गरेको हो ।

सम्मेलनमा सेनाले २०५६ सालदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । नेपाली सेनाबाट सम्मेलनमा प्रधानसेनापति वा रथीको तहबाट सहभागिता हुंदै आएको हो ।

त्यहां एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने गर्दछ ।

तर,माओवादी केन्द्रका नेताहरुले इण्डो प्यासेफिक शब्द आउने वित्तिकै त्यसको विरोध गर्ने गर्दछन् । सम्मेलनमा भाग लिन जांनको लागि माओवादी नै सहभागि मन्त्रीपरिषद्को बैठकले भ्रमणको लागि स्विकृती प्रदान गरेको हो । तर, संसदमा मंगलवार माओवादीका सांसदहरुले उनको भ्रमणको चर्को विरोध गरेका छन् । माओवादीले एमसीसीमा जस्तै यसमा दोहोरो नीति अंगालिरहेका छन् ।

उनिहरुले सेनाको अमेरिकासंगको सम्बन्धलाई लिएर प्रश्न उठाउंदै आएका छन् । नेपाली सेनाको अमेरिका,भारत,चीन र बेलायतसंग बलियो सैनिक सम्बन्ध छ । तर, माओवादी केन्द्रले अमेरिकासंग हुने सैनिक अभ्यास र सहकार्यको भने चर्को आलोचना गर्दै आएको छ । माओवादीले लगातार सेना र सैनिक नेतृत्वको विरोध गरेपछी सेना असन्तुष्ट रहेको स्रोत बताउंछ ।

‘हामिले हरेक निर्णय सरकारकै स्विकृतीमा गरेका छौं, उहांहरु समेत सरकारमै सहभागि हुनुहुन्छ । तर, किन हो निरन्तर सैनिक सहकार्यको उहांहरुले विरोध गरिरहनुभएको छ । आफ्नो राजनीतिक अभिष्टको लागि राष्ट्रिय सेनालाई विवादमा तान्नु राम्रो होईन ।’ सेनाका उच्च अधिकारीले काठमाण्डुपाटीसंग भने ।

मंगलबार पनि संसद बैठकमा माओवादी सासंद अमृता थापाले सरकारले आइपिएसमा सहभागि नहुने निर्णय गरेको भन्दै प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट स्विकृत भएर उक्त सम्मेलनमा जान लागेकोबारे चांसो राखिन् । अमेरिकाले रुस,चीन र उत्तर कोरियाविरुद्ध सुरु गरेको हिन्द महासागर रणनीति आईपीएस सम्मेलनमा प्रधानसेनापति सहभागी हुने निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीति र संविधानको भावनाविपरित हुने भन्दै निर्णय सच्याउन माग गरिन् ।

त्यस्तै माओवादी केन्द्रकै अर्की सांसद अन्जना विशंखेले हिजो बसेको प्रतिनिधि सभा बैठकमा प्रधानसेनापति इण्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) को सम्मेलनमा सहभागी हुन गएको दावी गरिन् ।

उनले भनिन् ‘यही सांसदबाट एमसीसी पारित गराउँदा आईपीएसको अंग होइन भनेर भनिएको उल्लेख गरिएको थियो । तर सरकारले प्रधानसेनापतिलाई यो निर्णयलाई लत्याएर आईपीएसको सम्मेलनमा कुन हैसियतमा प्रधानसेनापतिलाई पठाइयो ? सरकारको जवाफ चाहियो ।’

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पंचशिल सिद्धान्तमा निरन्तर अघि बढिरहेको मुलुक भएको भन्दै उनले यो नीति विपरित सरकार अघि बढ्न नसक्ने धारणा राखिन् ।

सेनापतिको यसअघि भएको अमेरिका भ्रमणबारे समेत माओवादी केन्द्रका सांसद देव गुरुङले संसदमा विरोध जनाएका थिए ।

यता सेनाले भने यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement