काठमाण्डु – ‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरूको उद्धार कार्यलाई संवेदनशीलतापूर्वक हेरेको प्रतिक्रिया दिएका छन् ।
भारतमा फसेका ५७ नेपालीहरूको उद्धार गरी गड्डाचौकी नाकामा आइपुगेका निर्देशक जोजीले बन्धक बनाइएको घटनाबारे १ महिनाअघि नै थाहा भए पनि ताप्लेजुङका १ जना नेपाली युवा मृतक भेटिएपछि थप संवेदनशील रूपमा काम गरेको बताए ।
उनले भने, ‘यो घटना १ महिना पहिला नै हामीलाई जानकारी आएको थियो । तर जब ताप्लेजुङका १ जना भाइ मृतक भेटिए, त्यसपछि थप चासो दिएका हौं । ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयबाट उठान भइसकेको उक्त केसलाई संवेदनशीलतापूर्वक हेरेका थियौं । जब उत्तराखण्डको प्रहरीसँगको सहयोगमा फसिरहेका नेपालीहरू भएको क्षेत्रमा पुग्यौं, त्यसपछि थप अध्ययन सुरु गरेका हौं । त्यहाँ पुग्दा उनीहरूलाई लाइन लगाएर अन्य मान्छे बोलाउन लगाइरहेको अवस्था थियो । त्यसका लागि केही मान्छेहरू पनि खटाइरहेको थियो । एकदमै फोहोर कोठामा उनीहरूलाई राखिएको थियो । उनीहरूसँग सुत्न–बस्ने राम्रो व्यवस्था थिएन । ३ वटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो । सुरुमा उनीहरू बोल्न पनि डराइरहेका थिए । पछि विरेन्द्र शाही पक्राउ परिसकेको छ भन्ने थाहा पाएपछि नेपालीहरू आक्रोशित भएका थिए ।’
बन्धक बनेका १ जना युवक नेपालमा आमाको मृत्यु हुँदा पनि घर आउन नदिएको भन्दै चरम यातना सहेर नेपालीहरू बस्न बाध्य भएको बताए । बन्धक बनाउने काममा विरेन्द्र शाही, मनिष तिवारी लगायत थुप्रै व्यक्तिहरू सक्रिय रहेको उनले बताए ।
निर्देशक जोशीले भारतमा बन्धक बनाइएका उनीहरूलाई घर फेरेर राखेको तथा भगाउँदै गरेको अवस्थामा समेत फेला पारेको बताए । रुद्रपुर र काशीपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घरघरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि उद्धार अघि बढाइएको उनले जानकारी दिए । किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो ।
उनीहरूलाई बसमार्फत सीमा नाका गड्डाचौकीसम्म ल्याइएको हो । बुधबार सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।
उद्धार गरेर ल्याइएका सबैलाई कञ्चनपुरमा नै वासस्थानको प्रबन्ध गरी बिहीबारबाट आ–आफ्नो गन्तव्यतर्फ पठाइएको छ । उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका छन् ।
निर्देशक जोशीको अगुवाइमा स्थापना भएको संस्थाले यसअघि पनि पटक–पटक भारतबाट धेरै नेपालीहरूको उद्धार गरेको थियो ।
प्रतिक्रिया