नेपाली राजदूतमाथि गम्भीर आरोप : के रहेछ पतिपत्नीको धन्दा ?


काठमाडौं – विदेशमा नेपाली राजदूत भएर जिम्मेवारीमा रहेका व्यक्तिका कामले देशलाई नै बद्नाम गराउने काम गर्छ सक्छ । राजदूत पदलाई एउटा जिम्मेवारीसँग मात्रै नभएर देशकै प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ ।

तर अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सन्दर्भमा सार्वजनिक भएका आरोपले देशलाई नै बद्नाम गराउने काम भएको छ । राजदूत शेर्पाले आर्थिक लाभको आशमा नेपालीलाई अस्ट्रेलिया लगेर ठगी गर्र्ने गरेको आरोप लागेको छ । राजदूतकै चालकका रुपमा अस्ट्रेलियाको राजधानी क्यानबारामा काम गरिसकेका ओङ्छु शेर्पाले गम्भीर आरोप लगाएका छन् ।

पत्रकार रवि लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा राजदूतका पूर्वचालक रहेका ओङ्छु शेर्पाले राजदूत शेर्पाले अकुत सम्पत्ति मनाएर जग्गा किनेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् । राजदूतमाथि लागेको आरोपको स्वतन्त्र पुष्टि नभएपनि विवादको घेरामा चाहिँ राजदूत परेकी छन् । अस्ट्रेलियाको नेपाली राजदूतावासले आरोपको खण्डन गरिसकेको छ । ‘आङ्छु शेर्पाले अस्ट्रेलियामा लुकिछिपी बसेर सम्मानित अदालतलाई प्रभावित पार्न र व्यक्तिगत छवि धमिल्याउने उद्देश्यले अत्यन्त भ्रामक, मनगढन्ते, कपोकल्पित रुपमा लगाइएको आरोप मिथ्या, तथ्यहीन र आधारहीन छ ।

तसर्थ, उक्त टेलिभिजन कार्यक्रममा निजले लगाएको झुठा आरोपको सम्बन्धमा विश्वास नगर्न, कुनै पनि भ्रममा नपर्न र सत्यतथ्य अबिलम्ब आउने हुनाले त्यतिन्जेलसम्म धैर्य राख्न हुन समेत यसै विज्ञप्तिमार्फत् सबैमा हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ । दूतावासले झण्डै १ वर्षअघि काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा पत्राचार गर्दै आङ्छु शेर्पामाथि कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको देखिएको छ ।

चालकबाट छाडेको र कारवाही प्रक्रिया अगाडि बढेको १ वर्षपछि शेर्पाले राजदूतमाथि आरोप लगाएका छन् । दूतावासका काउन्सेलर राजेन्द्र पाण्डेले परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा पत्राचार गर्दै शेर्पाले गरगहना लगायत बहुमूल्य सामान साथमा लिई सम्पर्कविहीन भएकाले कारवाही प्रक्रिया अगाडि बढाउन इन्टरपोलसँग समन्वयका लागि आग्रह गरिएको छ ।

के–के आरोप लाग्यो राजदूतमाथि ?
पूर्वचालक शेर्पाले राजदूत लक्की शेर्पामाथि थप गम्भीर आरोप लगाएका छन् । मानव तस्करीबाट आएको पैसाबाट राजदूत शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेको दाबी गरिएको छ । ओङ्छु शेर्पाले राजदूतले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग रहेको कार्यक्रममा बताए । राजदूत शेर्पाले सबै कारोबार आफूमार्फत् गर्ने गरेकालाई समस्या भएको ओङ्छु शेर्पाले बताएका छन् ।

ओङ्छु शेर्पामार्फत् सिंगापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अस्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्की शेर्पाले लिएको दाबी गरिएको छ । राजदूत शेर्पाले ५–६ जनाबाट अस्ट्रेलिया लैजान रकम उठाएको आरोप छ । शेर्पा सन् २०१७ मा राजदूतावासमा चालकको रुपमा काम गर्न पुगेका थिए । राजदूत लक्की शेर्पासँग आर्थिक विषयमा तनाव भएपछि ओङ्छु शेर्पाले क्यानबाराको नेपाली राजदूतावास छाडेका उल्लेख छ । वैदेशिक रोजगारमा ठगी गरेको अभियोगमा राजदूत लक्की शेर्पाले ओङ्छु शेर्पाकी पत्नीलाई छ महिनादेखि जेलमा थुनाएर राखेकी छिन् ।

चालक शेर्पाले भने आफूसँग राजदूत शेर्पाको लागि काम गर्ने गरेको दाबी गरेका छन् । राजदूत शेर्पामाथि लागेको आरोप गम्भीर खालको छ । चालक शेर्पाले अस्ट्रेलियाको प्रहरीमा समेत राजदूतबारे उजुरी दिएको बताएका छन् । यसले राजदूतको कुटनीतिक मर्यादा र देशको इज्जतमाथि आँच आउने काम भएको छ । राजदूतमाथि लागेका आरोपको जाँच गर्दै नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement