सेनाले संगठन परिवर्तन सुदृढीकरण सम्बन्धी ४ दिने गोष्ठी सञ्चालन गर्ने


काठमाण्डु – नेपाली सेनाले संगठनमा परिवर्तन सुदृढीकरण र दिगोपना सम्बन्धी ४ दिने गोष्ठी सञ्चालन गर्ने भएको छ । उक्त गोष्ठी फाल्गुन २ देखि ५ गतेसम्म जंगी अड्डामा संचालन गर्ने भएको हो ।

सेनाको संगठनात्मक संस्कृति र यसको सञ्चालन प्रकृयामा भएका र थालनी गरीएका सुधार एवं सकारात्मक पहलकदमीहरुलाई संस्थागत गर्दै लैजानको लागि तथा भविष्यमा कार्यान्वयनमा ल्याईने उस्तै प्रकृतिका कार्यक्रमहरुको दिगोपनालाई सुनिश्चित गर्नका लागि परिवर्तन व्यवस्थापन एवं सुदृढीकरण सम्बन्धी सैद्धान्तिक र व्यवहारिक आधार तयार पार्ने उद्धेश्य राखी गोष्ठी सञ्चालन गर्ने भएको हो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दीगोपनको वर्ष घोषणा गरे अनुरुप सोही ‘थेम’ मा आधारित रहेर यो सेमिनार संचालन गर्न लागिएको हो ।

उक्त सेमिनारमा नेपाली सेनाका विशिष्ट श्रेणीका रथीबृन्दहरु लगायत रक्षा मन्त्रालय र अन्य सुरक्षा निकायका उच्च अधिकारीहरुको सहभागिता रहने सेनाले जनाएको छ ।

सेमिनारमा संगठन सञ्चालन र परिवर्तन व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा गैर सैनिक विषयविज्ञहरु तथा नेपाली सेनाका रथीबृन्द र उच्च सैनिक अधिकृतहरुबाट व्याख्यान र व्याख्यान माथि अन्तरक्रिया र व्यापक छलफल हुने कार्यक्रम रहेको छ ।

सेमिनारको समापन पश्चात व्याख्यानमा समावेश भएका प्रस्तुतिकरणहरु माथि हुने अन्तर्क्रिया र छलफलबाट प्राप्त निचोडहरु समावेश गरि सेमिनार प्रतिवेदन प्रकाशन गर्ने योजना समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement