प्रधानसेनापतिद्वारा ‘सांगठनिक परिवर्तनको सुदृढीकरण तथा दीगोपना’ सम्बन्धी सेमिनारको शुभारम्भ


काठमाण्डु – नेपाली सेनाले ‘सांगठनिक परिवर्तनको सुदृढीकरण तथा दीगोपना’ सम्बन्धी ४ दिवसीय सेमिनारको शुभारम्भ गरेको छ ।

आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘सेमिनार अन अर्गनाइजेसनल चेन्ज कन्सोलिडेसन एण्ड सस्टेनएबिलिटी’ सम्बन्धी ४ दिवसीय गोष्ठीको बिशेष कार्यक्रमकाबीच समुदघाटन गरेका छन् ।

राष्ट्रिय गान एवं प्रधानसेनापति र रक्षा सचिवबाट संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरि शुरु भएको उक्त सेमिनारको उदघाटन समारोहमा स्वागत मन्तव्य राख्दै प्रधानसेनापति थापाले परिबर्तनलाई आत्मसात् गर्दै संगठनको लागि के आवश्यक हो, त्यो गरिनु पर्ने बताएका थिए ।

सेमिनार उदघाटन कार्यक्रममा प्रधान सेनापति थापाले संगठन बिकासमा परिवर्तनको महत्वमाथी प्रकाश पार्नु हुँदै हालको अवस्थाबाट अगाडी बढदै भविष्यमा अपेक्षित सांगठनिक अवस्थासम्म पुग्न व्यक्ति, प्रक्रिया, प्रविधि, संरचना, रणनीति र संस्कृतिमा निश्चित परिवर्तनहरू आवश्यक पर्ने तथ्यमा जोड दिँदै व्यक्तिगत, सांगठनिक तथा राष्ट्रिय परिस्थितिहरुमा परिवर्तनको लागि प्रतिबद्ध रहनु पर्ने तथा त्यसको लागि आफ्नो काम गर्ने तौर तरिका बदल्नु पर्ने बताए ।

फाल्गुन ५ गतेसम्म चल्ने चार दिवसीय उक्त सेमिनारको पहिलो दिन आज गैर सैनिक विषयविज्ञ तथा नेपाली सेनाका विषयविज्ञ रथीबृन्दहरुबाट विभिन्न विषयमा व्याख्यान, अन्तर्क्रिया तथा व्यापक छलफल भएको छ ।

रक्षा सचिव, गृह सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरीका महानिरिक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका सहसचिवहरु, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशकको उपस्थितिमा उद्घाटन भएको सो सेमिनारमा ६ जना गैर सैनिक वक्ताहरु लगायत नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु तथा रक्षा मन्त्रालय एवं अन्य सुरक्षा निकायहरुका उच्च अधिकृतहरुको सहभागिता रहने छ ।

यस प्रकारका कार्यक्रमबाट नेपाली सेनामा विद्यमान पद्दती र प्रणालीलाई सुदृढ गर्दै लैजाने तथा भविष्यमा परिवर्तन व्यवस्थापनको कार्यलाई सम्पादन गर्ने दायित्व भएका भावि पुस्ताको नेतृत्व वर्गलाई समेत यस प्रकृयामा हिस्सेदार र जिम्मेवार बनाउँदै लैजान मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement