प्रधानसेनापति शर्माको सम्बोधन:संगठन सुधारदेखी द्रुतमार्ग निर्माण समयमा सम्पन्न गर्ने योजना


काठमाण्डु – नवनियुक्त प्रधानसेनापति प्रधुराम शर्माले पहिलोपटक सकल दर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापतिमा नियुक्त भएपछि शर्माले जंगी अड्डास्थित सभामण्डपमा आयोजित कार्यक्रममार्फत पहिलाेपटक सकलदर्जालाई सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरु र आगामी कार्यदिशाका बारेमा जानकारी गराएका थिए । साथै उनले जस्तोसुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण तथा प्रवर्द्धनका लागि सदैव तयार रहन सकल दर्जाहरुलाई निर्देशन दिए ।

नवनियुक्त प्रधानसेनापति शर्माले विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्ने दावी गरेका छन् । उनले विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार ल्याउने नीति समेत सार्वजनिक गरे ।

उनले राष्ट्रिय सुरक्षा नीति राष्ट्रिय प्रतिरक्षा नीतिअनुरूपको राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ पुनरावलोकन गरिने बताए । यिनै नीति, रणनीति र मूलग्रन्थलाई आधार मानेर ३ जोड १ कमाण्डको सफल कार्यान्वयन गरिदै लगिने उनको भनाई थियो ।

शर्माले नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि स्विकार्य नहुने समेत बताएका छन् ।

शिक्षा क्षेत्रमा प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश)को लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीहरुका १ (एक) जना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक बीस हजारका दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध गराउदै आईरहेकोमा २०७९ वैशाखको शैक्षिक सत्र देखि कक्षा ४ र ५ मा अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत बार्षिक बीस हजार प्रदान गरिने उनले घोषणा गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरिने, वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि क्याथ ल्यावको स्थापना गरिने र त्रि–चन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिने समेत उनको योजना छ ।

त्यसका साथै सैनिक कमाण्ड तथा स्टाफ तालिमको शिक्षार्थि कोटा पुनरावलोकन गरी उक्त तालिमको लागि २०७८ सालको प्रवेश परीक्षाबाट लागु हुने गरी हालको प्रावधान अनुसार नेपाली सेनाको शिक्षार्थी संख्या ५७ जनामा शिक्षार्थी संख्या २० थप गरी जम्मा ७७ बनाउने उनको योजनामा छ

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई\मधेस द्रुतमार्ग निर्माण कार्यलाई निर्धारित समयमा सम्पन्न गर्न विशेष पहल गरिने उनले बताएका छन् । प्रधानसेनापतिले संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाको गुणात्मक सहभागिता वृद्धि गर्दै नेपाललाई भरपर्दो र विश्वसनीय संस्थाका रूपमा विकास गरिनुका साथै शान्ति सेनामा सकलदर्जाको समतामूलक सहभागिताको लागि थप प्रयासहरु समेत गरिने घोषणा गरेका छन् ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गर्ने उनकाे भनाइ थियाे ।

यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement