सैनिक मुख्यालयमा आकस्मिक बैठक, आधिकारिकता पुष्टि भएमा हुन सक्छ ‘कोर्ट मार्सल’


काठमाण्डु – तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउन भन्दै सन् २०१५ मा लेखेको शंकास्पद पत्र सार्वजनिक भएपछि सैनिक मुख्यालयमा आकस्मिक बैठक बसेको छ ।

नेपाली सेनाले एसपीपीमा सहभागी हुन अनुरोध गरेको भन्दै बिहीबार एक पत्र सार्वजनिक भएपछि पत्रको आधिकारिकतामा धेरै प्रश्न उठेका छन् । उक्त पत्रको सत्यताबारे बुझ्न सैनिक मुख्यालयमा आकस्मिक बैठक बसेको हो ।

सेनाले पठाएको भनिएको पत्रको आधिकारिकताबारे बुझ्ने काम भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सो पत्रमा सेनाले प्रयोग गर्ने लोगो छैन । यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि नेपाली सेनाले बुधबार त्यसको खन्डन गर्दै त्यस्तो कुनै गतिविधि नरहेको र नहुने दावी गरेको थियो ।

सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् । लेटरप्याडमा सेनाको लोगो भने छैन । केहि दिनअघिमात्रै अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय पुन चर्चामा आएको हो ।

तत्कालीन प्रधानसेनापतिले लेखेको भनिएको पत्रमा पत्र संख्या विवरण र मितिको विवरणमा दुई ठाउँ हस्तलिखित अक्षर छ । तर अन्य ठाउँमा भने कम्प्युटरमा टाइप गरिएको अक्षर रहेका छन् । सामान्यतः सेनाका प्रधानसेनापतिले होइन सैनिक सचिवले पत्रमा हस्ताक्षर गर्ने प्रचलन छ ।

यो पत्र नियोजित रुपमा बाहिर ल्याइएको र यसको आधिकारिकतामा प्रश्न रहेको सैनिक स्रोतकाे दावी छ । तर, उक्त पत्रको आधिकारिकता पुष्टि भएमा जंगी अड्डाले क्षेत्रीमाथि कारबाही अघि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement