प्रधानसेनापति थापा र मेयर शाक्यले गरे हेमोडाईलाईसिस युनिटको संयुक्त उद्घाटन


काठमाण्डु – नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा खडा गरिएको हेमोडाईलाईसिस युनिटको उद्घाटन गरेको छ ।  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा हेमोडाईलाईसिस युनिटको उद्घाटन् गरेका हुन् ।

सेना र कामपाबीच २०७६ पौष ०२ गते वीरेन्द्र अस्पताल, छाउनीमा हेमोडाईलाईसिस (मृगौला सम्बन्धी) सेवा उपलब्ध गराउने सम्बन्धमा भएको समझदारी भएको थियो ।

महानगरपालिकाबाट प्राप्त भएको ३ करोड रकमबाट हेमोडाईलाईसिसका लागि आवश्यक भौतिक पूर्वाधार, हेमोडाईलाईसिस मेसिन गोटा ८, रिप्रोसेसिङ मेसिन थान १, पानी शुद्धिकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरु जडान गरिएको छ । साथै हेमोडाईलाईसिस युनिट संचालनको लागि आवश्यक जनशक्ति ७ जना समेत महानगरपालिकाले नै उपलब्ध गराउने छ ।

उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका मृगौलाका बिरामीहरुलाई निशुल्क दुई सिफ्टमा सेवा प्रदान गर्ने योजना अनुसार ८ वटा हेमोडाईलाईसिस मेसिनबाट ४८ जना बिरामीहरुलाई साताको दुई पटक सेवा प्रदान गर्न सकिने सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा रथी प्रभुराम शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, काठमाण्डु महानगरपालिकाका उपमेयर तथा अन्य पदाधिकारीहरु लगायत विभिन्न मिडियाका सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement