काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझ सुरु भएको छ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारको मतगणना बेलुकी साढे ७ बजेदेखि थालिएको हो।
यसअघि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसपछि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको निर्वाचन समिति सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
कटुवालका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सीसी क्यामेरा जडान र मतगणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गरेपछि गणना सुरु गरिएको हो।
शुक्रबार राति मतदान सकिएपछि सभापति पदको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्दै झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन्।
शनिबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले खड्गीसहित आगामी मतगणनामा पराजित हुने सबैलाई समेटेर अघि बढ्ने बताएका थिए।
पार्टीमा धेरै जिम्मेवारी बाँकी रहेको उल्लेख गर्दै उनले क्षणिक रूपमा जित–हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको भूमिका उत्तिकै हुने बताए।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसालको उपस्थितिमा उनले कसैले पनि जिम्मेवारीबाट पन्छिन नपाउने बताएका छन्।



प्रतिक्रिया