कांग्रेस अधिवेशनः चार प्रदेशमा संस्थापन पक्ष बलियो, कुन प्रदेशमा को ?


काठमाण्डु – नेपाली कांग्रेसको ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर २ बाहेकका प्रदेशमा भएको निर्वाचनमा संस्थापन पक्ष बलियो देखिएको छ । प्रदेश २ मा क्षेत्रीय प्रतिनिधि चयनमा विवाद हुँदा अधिवेशन हुन सकेको छैन ।

संस्थापन पक्षले चार वटा प्रदेशमा जित हात पार्दै बलियो पकड बनाएको हो । सार्वजनिक मत परिणामअनुसार प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् ।

थापाकोविरुद्धमा संथापन इतर पक्षका गुरु घिमिरे उठेका थिए । थापाले ८ सय ४४ मत ल्याउँदा घिमिरेले ८ सय ४२ मत ल्याएका थिए ।

यस्तै बागमती प्रदेशमा संस्थापन पक्षका इन्द्र बानियाँ विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत ल्याएका छन् । संस्थापनइतर पक्षका जगदीश्वर नरसिंह केसी ९ सय २७ मत प्राप्त गरि पराजित भएका थिए ।

गण्डकी प्रदेशमा संस्थापनइतर समूहका शुक्रराज शर्मा विजयी भएका छन् । उनले संस्थापन पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए ।

लुम्बिनी प्रदेशमा संस्थापनइतर पक्षका अमरसिंह पुन विजयी बनेका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मतमै चित्त बुझाए ।

यस्तै कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् । ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याए ।

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बीरबहादुर बलायर बिजयी भएका छन् । स्थापनइतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्दै बलायर निर्वाचित भएका हुन् ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement