काठमाण्डु-नेपाली कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई संस्थापनइतरका नेता शेखर कोइरालाले बहिष्कार गरेका छन् । सम्मेलन शनिबार प्रदेश राजधानी विराटनगरमा हुँदैछ ।
विराटनगरमा पहिलोपटक हुन लागेको कोशी प्रदेश स्तरीय सम्मेलनमा इतर पक्षका नेता कोइरालाले बहिष्कार गरेका हुन् । आसनग्रहणका लागि दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमा कोइराला सहभागी नहुने भएका हुन् । विराटनगरको कार्यक्रम छाडेर उनी चितवन गएका छन् । कोइराला शनिबार चितवनमा आयोजित दुईवटा शोकसभामा सहभागी हुनेछन् ।
कोइराला पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुनेछन् ।
प्रदेश सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनका लागि देउवासहितका केन्द्रीय नेताहरू विराटनगर पुगिसकेका छन् ।
गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापतिपछिको ‘पोर्टफोलियो’मा आफूलाई आशनग्रहण गराउनुपर्ने प्रस्ताव कोइरालाको थियो । तर, प्रदेश समितिले केन्द्रीय समितिको ‘रोलक्रम’ अनुसार आसनग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका हुन् ।
पार्टी सभापति देउवापछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले खड्काभन्दा माथि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन् ।
सम्मेलनमा उपस्थितिका लागि कोइरालासहितका केन्द्रीय नेताहरूलाई निम्तो गरिएको नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए । उनले भने, ‘पार्टीको केन्द्रीय समितिले ‘पोर्टफोलियो’ व्यवस्थापन गरेको छ । त्यसलाई प्रदेश समितिले स्वीकार गर्ने हो ।’
कोइरालाले प्रदेश सम्मेलनअघि मंसिर १८ गते विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिको सम्मेलन आयोजना गरेका थिए । सम्मेलन मंसिर १९ गते बेलबारीमा सम्पन्न भयो । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला निकट नेताहरूको दाबी छ । यद्यपि, संस्थापन पक्षले भने उक्त दाबीको खण्डन गरेको छ ।
यो भेला रोक्नका लागि संस्थापन पक्षले प्रयास गरेपनि सकेन । केन्द्रको सर्कुलरतविपरीत कोइराला पक्षले भेला गरेको हो ।
कांग्रेसको कोशी प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ । संस्थापन पक्षले उपसभापति पूर्णबहादुर खड्कालाई पनि बोलाएको छ । उनी विराटनगर आइसकेका छन् । खड्कासहित महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।
कोइराला पक्षका सभापति भएको लुम्बिनी प्रदेशको सम्मेलनमा भने उनी दोस्रो वरीयतामा थिए । २०८० मंसिर १६ र १७ गते भएको उक्त सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का उपस्थित थिएनन् ।
सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ । कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो ।
प्रतिक्रिया