कांग्रेस संस्थापन इतर पक्षले आज सम्पर्क कार्यालय खोल्दै

कांग्रेस संस्थापन इतर पक्षले आज सम्पर्क कार्यालय खोल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका इतर पक्षले सोमबार काठमाण्डुको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ।

पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोल्न लागेको हो ।

समूहका शीर्ष नेताहरूको बैठकले शुभ साइत हेरेर सम्पर्क कार्यालय उद्घाटनसँगै आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने छ ।

उद्घाटनपछि सोही कार्यालयमा सोमबार बैठक पनि बस्नेछ । बैठकमा काठमाण्डुमा उपलब्ध निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो ।

बैठकले राष्ट्रिय भेलाको मिति तय गर्नेछ । सातै प्रदेशमा भेला गरेको इतर समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।

‘चुनदेवीमा सम्पर्क कार्यालय स्थापना हुन्छ । १५ औं महाधिवेशनका सम्पूर्ण तयारीहरू, छलफलहरू, बैठकहरू त्यहीँबाट हुन्छन्, उनको भनाइ थियो, ‘सम्पर्क, सम्बन्ध र संगठन बिस्तारका काम पनि सम्पर्क कार्यालयबाटै हुन्छन्’ इतर समूहका नेता मिन विश्वकर्माले बताए ।

सम्पर्क कार्यालय उद्घाटनलाई आगामी १५औँ महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा देशभरका नेता–कार्यकर्ताबीच समन्वय बढाउने उद्देश्यसँग जोडेर हेरिएको छ।

राष्ट्रिय भेलामार्फत पार्टीको भावी रणनीति, संगठन विस्तार तथा आन्तरिक एकताका विषयमा थप छलफल हुने इतर समूहका नेताहरूले बताएका छन् ।

देउवा-शेखर पक्षले सातै प्रदेशमा भएका छलफल र भेलाबाट प्राप्त सुझावलाई राष्ट्रिय भेलामा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।