काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको १५औँ महाधिवेशनमा उपस्थित नहुने भएका छन्। कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा सहभागी हुन शनिबार निमन्त्रणा गरेको थियो।
महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए।
पार्टी सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उनी महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा। प्रकाश शरण महतले जानकारी दिए।
आफूहरूलाई महाधिवेशनमा निमन्त्रणा नगरेको दाबी महतले गरे । महतले भने, ‘देउवा महाधिवेशनमा सहभागी नहुने र हामीहरूलाई बोलाएको भनेर संस्थापन पक्षले मिडियाबाजी मात्रै गरेका हुन्, हामीलाई बोलाएकै छैनन् ।’
‘त्यसकारण उहाँ आउनुहुन्छ भनेर कुप्रचार गरिरहेको छ देउवा दाइ गगनजीहरूको उद्घाटनमा जानुहुन्न’, महतले भने ।
समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन। देउवा चौधौँ महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए। त्यसबेला महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा आएका थिए। तर जेनजी आन्दोलनपछि गत पुस अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन गरेर थापालाई सभापति बनाएको थियो। तर देउवा पक्षले सो महाधिवेशन स्वीकार गरेको छैन।
महतले देउवा नेतृत्वमै १५औँ महाधिवेशन हुनुपर्ने बताए । कांग्रेसभित्र विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको वैधानिकता र नियमित महाधिवेशनको प्रक्रियालाई लिएर विवाद जारी छ। उक्त विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा रहेको छ।
देउवा पक्षले पनि असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ।
शेखर र ओली पनि नजाने
महाधिवेशनमा कांग्रेसका नेता डा. शेखर कोइराला पनि सहभागी नहुने भएका छन्। उनी पार्टी मिलाउने भन्दै लामो समयदेखि मझधारमा उभिँदै आएका छन्।
केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्। उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा उभिएका छन्।
यस्तै महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नजाने भएका छन्। पार्टीको संसदीय दलको बैठक आएतबार दिउँसो १ बजे बस्ने भएकाले ओली नजाने उनी निकट एक नेताले जानकारी दिए ।




प्रतिक्रिया