काठमाण्डुका यी चोक हुँदै खुलामञ्च पुग्दैछन् कांग्रेसका प्रतिनिधि र कार्यकर्ता

काठमाण्डुका यी चोक हुँदै खुलामञ्च पुग्दैछन् कांग्रेसका प्रतिनिधि र कार्यकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू खुलामञ्चतर्फ जाने क्रम तीव्र भएको छ।

दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने उद्घाटन समारोहमा सहभागी हुन काठमाण्डुका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका कांग्रेसका प्रतिनिधि तथा नेता–कार्यकर्ता महाधिवेशनस्थलतर्फ लागिरहेका छन्।

महाधिवेशनका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रमा प्रतिनिधिहरूको बसोबासको व्यवस्था गरिएको छ। ती क्षेत्रबाट प्रतिनिधि तथा शुभेच्छुकहरू खुलामञ्चतर्फ आउने क्रम बढेको छ।

महाधिवेशनस्थल पुग्ने निजी सवारीसाधनका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

उपत्यकाबाहिरबाट प्रतिनिधि बोकेर आउने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा गर्ने जनाएको छ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।

यसपटकको महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुँदैछ।

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ।