मल्लिकार्जुन खड्गेको सन्देश : दुई छिमेकी कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ

मल्लिकार्जुन खड्गेको सन्देश : दुई छिमेकी कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले दुई छिमेकी देशका कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै खड्गेले दुई पार्टीबीचको लोकतान्त्रिक सहकार्यको लामो इतिहास स्मरण गरेका हुन्।

खड्गेले कांग्रेसको महाधिवेशन संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र लोकतान्त्रिक संस्थाको सुदृढीकरणबारे छलफल गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

‘राष्ट्रिय महाधिवेशन वास्तवमै तपाईंका संस्थापक स्वर्गीय बीपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य-मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार–विमर्श गर्ने महत्वपूर्ण अवसर हो,’ खड्गेले सन्देशमा भनेका छन्।

उनले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गर्दै दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई आफूले उच्च मूल्य दिने बताएका छन्।

‘म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च मूल्य दिन्छु,’ खड्गेले भनेका छन्।