काठमाण्डु- नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
पार्टीको संशोधित विधानमार्फत यसै महाधिवेशनबाट सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र वरिष्ठ उपसभापति पदमा एकमात्रै उम्मेदवारी परेपछि शर्मा निर्विरोध भएका हुन्।
कांग्रेसमा यसअघि वरिष्ठ उपसभापति पदको व्यवस्था थिएन। १५औँ महाधिवेशनअघि गरिएको विधान संशोधनमार्फत पहिलोपटक यो पद सिर्जना गरिएको हो।
नयाँ संरचनामा वरिष्ठ उपसभापतिलाई पार्टीको पदाधिकारी संरचनामा महत्वपूर्ण जिम्मेवारीसहित राखिएको छ।
शर्मा यसअघि महामन्त्री थिए। गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापासँगै उनी उपसभापति पदमा निर्वाचित भएका थिए।
विशेष महाधिवेशनबाटै उनी उपसभापतिको जिम्मेवारीमा पूगेका थिए। त्यसपछि १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद सिर्जना गरिएसँगै उनी उक्त पदका उम्मेदवार बनेका थिए।
वरिष्ठ उपसभापति पदमा शर्माको निर्विरोध चयनसँगै थापा नेतृत्वको नयाँ कार्यसमितिमा उनको भूमिकासमेत सुनिश्चित भएको छ।
सभापति पदमा भने थापाले उम्मेदवारी दिएका छन् भने उनलाई चुनौती दिँदै पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र काठमाडौंका श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि कांग्रेसमा एक उपसभापतिको नेतृत्वमा पदाधिकारी संरचना रहेकोमा पछिल्लो विधान संशोधनले पदाधिकारीको संख्या र संरचनामा व्यापक परिवर्तन गरेको छ।
नयाँ व्यवस्थाअनुसार चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्रीसहित वरिष्ठ उपसभापति पदसमेत थपिएको छ। अब कांग्रेसमा पदाधिकारी २१ भएको छ।
विश्वप्रकाश शर्मा कांग्रेसभित्र पछिल्लो समय प्रभावशाली नेताका रूपमा स्थापित हुँदै आएका छन्। उनी १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। त्यसअघि उनले पार्टी प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए।
यसरी पार्टीको नयाँ संरचनामा पहिलोपटक सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा शर्माको निर्विरोध चयन भएको हो।
सभापति पदमा भने सर्वसम्मत नेतृत्व चयनको प्रयास सम्भव नभएपछि थापा, राठौर र खड्कीबीच प्रतिस्पर्धा हुने अवस्था बनेको छ।




प्रतिक्रिया