कांग्रेसको चौधौं महाधिवेशनः नेतृत्व वृद्ध नेताको हातमा, युवामा छैन् चुनाव लड्ने आँट !


निशेष खनाल/काठमाण्डु – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति टुंगो लागेको छ । कांग्रेसले फागुन ७ देखि १० गते काठमाण्डुमा महाविधेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन रौनकसँगै कांग्रेसभित्र युवाको काँधमा कांग्रेसको नेतृत्व जानुपर्ने आवाज उठ्न थालेको छ । तर, उमेरले डाँडो काटेका नेताहरु नै सभापति बन्ने खेलमा लागेकाले युवाले नेतृत्व सम्हाल्न सक्ने अवस्था भने कांग्रेसमा अझै बनेको छैन् । हालका सभापति शेरबहादुर देउवा आफैं युवालाई नेतृत्व दिन तयार छैनन् । उनी पुनः आफैं सभापति बन्ने खेलमा लागिपरेका छन् । हुनत कांग्रेसभित्र नेतृत्व सम्हाल्ने युवा शक्ति भने नभएको होइन ।

देउवाजस्तै राजनीतिमा नेतृत्व लिन नपाएका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एक पटक नेतृत्व सम्हाल्ने दाउमा छन् । पौडेल प्रतिनिधिसभाको निर्वाचनमा चुनाव हारेका व्यक्ति हुन् । उनले तनहुँमा नेकपाका नेतासँग चुनाव हारेका थिए । पौडेल नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय भएर पनि नेतृत्व सम्हाल्नबाट बञ्चित व्यक्तित्व हुन् । पौडेललाई तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका वाम गठबन्धनतत्कालिन नेकपा (एमाले)का उम्मेदवार किसानकुमार श्रेष्ठ किसानले पराजित गरेका हुन् । पौडेललाई किसानले ६ हजार ४१४ मतान्तरले पराजित गरेका थिए ।

विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याए। पराजित पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए । यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि पौडेल र किसान श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला पौडेल ४५ सय मतले विजयी भएका थिए।नेपाली राजनीतिमा सबैभन्दा बढी धोका खाने नेतामा पौडेल पनि पर्छन् ।

त्यस्तै स्थापना कालदेखि कांग्रेसको नेतृत्व सम्हाल्दै आएको कोइराला परिवार पनि यो पटकको कांग्रेस नेतृत्व सम्हाल्ने दाउमा छ । कांग्रेस नेता शेखर कोइराला, शशांक कोइराला नेतृत्व हत्याउने दाउमा लागेका छन् । उनीहरुले सभापति देउवाले पार्टी सञ्चालन गर्न नसकेको आरोप लगाउँदै आएका छन् । त्यस्तै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह पनि सभापतिको लाइनमा छन् । उनीहरुको गुटगत संचरना कमजोर भएकाले यसपटकको सभापतिमा देउवा र कोइराला परिवारबीचमै टक्कर हुने देखिएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यकाअनुसार संगठनको हिसाबले र आर्थिक हिसाबले देउवा मजबुत छन् । उनले शेखर कोइरालासँग प्रधिष्पर्धा गर्नेछन् । शेखरको नाममा सहमतिको कोशिस अर्को पक्षबाट भइरहेको छ ।

‘देउवा गुटगत रुपमा बलियो छन् । हाल सभापति रहेको हिसाबले हेर्दा पनि महाधिवेशनमा उनी नेतृत्वमा आउने सम्भावना बढी छ । किनकी देउवा आर्थिक हिसाबले पनि मजबुत छन्’, कांग्रेसका एक नेताले भने, ‘यता कोइरालालाई पनि अर्को पक्षले सहयोग गरिरहेको छ । नेतृत्वकालदेखि नै कोइराला परिवारले पार्टी सञ्चालन गर्दै आएकाले बीचमा देउवाले अवसर पाएका हुन् ।’

त्यस्तै हालका वृद्ध नेताहरुलाई१५ औं महाधिवेशनमा सभापतिका लागि चुनाव लड्ने अवसर नभएकाले पनि हाल धेरैले सभापतिमा रुची राखेको स्रोतले जानकारी दियो ।

वृद्ध नेताको संगठनले रथ तान्दैन

लामो समय पार्टीका लागि योगदान गरेका वृद्ध नेताहरुले युवालाई कांग्रेसको नेतृत्व सुम्पिनुपर्ने अहिलेको आवश्यकता रहेको छ । जिल्लागत रुपमा कांग्रेसको संरचना हेर्ने हो भने खासै सन्तोषजनक छैन् । सभापति देउवाले भनेजस्तै कांग्रेसको संचरना भद्रगोल अवस्थामा रहेको छ । जिल्लागत रुपमा पार्टीको संचरना कमजोर रहेसम्म कांग्रेस मजबुत नहुने स्वर्य कांग्रेस नेताको बुझाई छ । नेतृत्वमा युवाको आवागमन नभएसम्म कांग्रेसले मुहार फेर्न नसक्ने कांग्रेस नेताहरु नै बताउंछन् ।

‘अहिले सभापतिको लाइनमा रहेका सबै नेता वृद्ध छन् । उनीहरुबाट हामीले पार्टी मजबुत हुने आश गरेका छैनौं । किनकी उहांहरुको क्षमता हामीले हेरिसकेका छौं’ एक कांग्रेस नेताले भने, ‘जिल्ल्लागत रुपमा पनि पार्टीको संरचना खस्कदों छ । बृद्ध नेताहरुको संगठनले रथ तान्न सक्दैन भन्ने निष्र्कशमा हामी पुगिसकेका छौं ।’ वृद्ध नेताहरुले नेतृत्व सम्हालेर कांग्रेस भजन मण्डली हुनेमा कांग्रेसकै नेताको स्वीकारोक्ती रहेको छ ।

महामन्त्रीमा युवा नेताको रुची, छैन् सभापतिमा लड्ने आँट !

कांग्रेसको नेतृत्व युवाले गर्ने भनेर आवाज उठे पनि व्यावहारिक रुपमा भने कार्यान्वयन नहुने अवस्था आएको छ । युवा नेताहरु सभापतिमा भन्दा पनि महामन्त्रीको दौडमा रहेका छन् । प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापालगायतका युवा नेता महामन्त्रीका लागी आकांक्षी छन् । उनीहरुले सभापतिका लागि चुनाव लड्ने आँट गरेका छैनन् ।

त्यस्तै महामन्त्रीको दौडमा बालकृष्ण खाँड, प्रकाशशरण महत पनि रहेका छन् । अबको नेतृत्व युवाको काँधमा आउनुपर्छ भन्ने गगन र विश्वप्रकाश नै सभापतिबाट ‘ब्याक’ सरेका छन् । महाधिवेशन नजिकिरहेको अवस्थामा गगन थापा नेतृत्वबारे मौन छन् । किनकी कृष्णप्रसाद सिटौला गुटमा रहेका थापालाई सभापति युवाले पाउनुपर्छ भन्नेबारे बोल्न पनि त्यत्तिकै गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement