‘हुम्लामा चीनले सीमा मिचेको छैन’ भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसगको सीमा विवादबारे सरकारको हतारो निर्णय भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बिहीबार एक विज्ञप्ति जारी गर्दै हुम्लामा स्थलगत अनुगमन टोली फिर्ता नहुँदै सरकारले धारणा सार्वजनिक गर्नु युक्ती संगत नदेखिएको बताएका हुन् ।

‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ।’ प्रवक्ता शर्माले भनेका छन्, ‘सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन ।’

अध्ययन टोलीले ११ नम्बर नम्बर पिल्लर धुबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरभन्दा बाहिर या भित्र भनेर अयध्यन टोलीले स्थलगत अध्ययन निषकर्षपछि सीमा मिचिएको हो÷होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसको ठहर छ ।

प्रवक्ता शर्माले कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा रहेको बताएका छन् ।

‘स्थलगत अध्ययनको धारण आउनुपूर्व नै सीमा मिचिएको छैन् भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस