गगनलाई सभापतिमा किशोरसिंह र श्यामकृष्णको चुनौती

गगनलाई सभापतिमा किशोरसिंह र श्यामकृष्णको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाको सर्वसम्मत नेतृत्व चयनको प्रयासमा धक्का लागेको छ।

थापासहित पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र काठमाडौंका श्यामकृष्ण खड्कीले सभापति पदमा उम्मेदवारी दर्ता गराएपछि कांग्रेस सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यद्यपि उम्मेदवारी फिर्ता लिने अवधि अझै पनि रहेकाले गगनको कोसिसले अझै निरन्तरता पाउने छ।

थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा कृष्ण बानियाँ ‘सबुज’, देउकुमार थेबे र करूणा कटुवाल तथा समर्थकमा सुसन वैद्य, गोमा राई र मनोज भट्ट रहेका छन्।

थापा गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका थिए। १५औँ महाधिवेशनमा पनि उनी सभापतिमा दोहोरिन उम्मेदवार बनेका हुन्।

थापालाई चुनौती दिँदै पूर्वसहमहामन्त्री राठौरले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। राठौर बर्दिया क्षेत्र नम्बर २ बाट मंगलबार महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। उनले मंगलबार नै सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए।

त्यस्तै काठमाडौंका श्यामकृष्ण खड्कीले पनि थापालाई चुनौती दिँदै सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले सोमबार खुलामञ्चस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। खड्की काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

यससँगै कांग्रेस सभापतिमा थापा, राठौर र खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि थापालाई सर्वसम्मत रूपमा सभापति बनाउने प्रयास भइरहेको चर्चा भए पनि दुई नेताले उम्मेदवारी दर्ता गरेपछि त्यो प्रयासमा चुनौती थपिएको हो।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ता गर्न छुटेको हुन सक्ने भन्दै मनोनयनको समय बढाएर बेलुकी ७ बजेसम्म पुर्‍याएको छ।