काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको वडा अधिवेशन शुक्रबार पनि हुन्ँदैछ । बिहीबार सुरु भएको वडा अधिवेशबन तीन हजार पाँच सय वडामा सम्पन्न भएको छ ।
सम्पन्न हुन बाँकी रहेका वडाहरूका शुक्रबार र शनिबार अधिवेशन हुँदैछ । कांग्रेस संस्थापन पक्षले आइतबारबाट काठमाण्डुमा १५ औं महाधिवेशन गर्दै छ ।
देउवा पक्षको महाधिवेशन सचिवालय समितिका संयोजक दीपक कुइँकेलका अनुसार बिहीबार अधिवेशन भएका वडामा सर्वसम्मति र मतदानबाट कार्यसमिति चयन गरिएका छन् । ‘बाँकी वडामा शुक्रबार र शनिबार वडा अधिवेशन गरिँदै छ’, उनले भने। कतिपय ठाउँमा बाढीपहिरोले वडा अधिवेशन अवरुद्ध भएको छ ।’
वडा अधिवेशनबाट वडाको क्रियाशील सदस्यता संख्याका आधारमा २१ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
१५० क्रियाशील सदस्यता रहेको वडामा २१ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने ६ सय ५० भन्दा बढी क्रियाशील सदस्यता रहेको वडाबाट ७५ जनासम्म प्रतिनिधि चयन हुनेछन् ।
क्षेत्रीय प्रतिनिधिमा १८ देखि २८ वर्ष उमेर समूहका २ देखि ६ जनासम्म युवा निर्वाचित हुने व्यवस्था गरिएको छ । महिलाको प्रतिनिधित्व ३ देखि १२ जनासम्म हुनेछ । अपांगता भएका व्यक्ति, विषयविज्ञ, श्रमिक, प्रजातन्त्रका सेनानी, घाइते, द्वन्द्वपीडित र सहिद परिवारको समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
देउवा पक्षले वडा अधिवेशनका लागि ५ लाख ७३ हजार २ सय ६९ पुराना क्रियाशील सदस्यता नवीकरण र २ लाख १० हजार ५सय ६७ नयाँ क्रियाशील सदस्यता वितरण गरी ७ लाख ८३ हजार ८ सय ३६ सदस्यताको सूची निर्वाचन समितिलाई बुझाएको थियो ।
वडा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचनबाट आउनेछन् ।
कोषाध्यक्ष सभापतिको प्रस्तावमा वडा कार्यसमितिले अनुमोदन गर्नेछ । वडा कार्यसमितिको सदस्य संख्या स्थानीय तहका वडाअनुसार फरक हुनेछ ।
गाउँपालिकाको वडाबाट तीन महिला, ६ खुला र ६ समावेशी गरी १५ सदस्य निर्वाचित हुनेछन् । नगरपालिकाको वडाबाट चार महिला, आठ खुला र आठ समावेशी गरी २० सदस्य चुनिनेछन् । उपमहानगरपालिकाको वडाबाट पाँच महिला, १० खुला र १० समावेशी गरी २५ तथा महानगरपालिकाको वडाबाट ६ महिला, १२ खुला र १२ समावेशी गरी ३० सदस्य निर्वाचित हुने व्यवस्था छ ।
वडा कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुष युवा तथा ४० वर्षमुनिका कम्तीमा एक महिला र एक पुरुषको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ ।
देउवा पक्षले वडा अधिवेशनपछि २० असोजमा गाउँपालिका तथा नगरपालिका अधिवेशन हुनेछ । प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन २३ असोज, जिल्ला अधिवेशन १५ कात्तिक र प्रदेश अधिवेशन ४ मंसिरमा गर्ने कार्यतालिका छ । देउवा पक्षको केन्द्रीय महाधिवेशन भने २१–२३ मंसिरलाई तोकिएको छ ।




प्रतिक्रिया