कांग्रेसलाई साथ दिन जसपा सकारात्मक, नेपाल समूह अन्यौलमा


काठमाण्डु – नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज राति सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि तिन दिनको समय दिएकी थिइन् ।

कांग्रेसले दावी पेश गर्दै

काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्ने भएका छन् । त्यसको तयारी भइरहेको कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उनले भने, ‘जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसंग सभापति जीले अहिले छलफल गरीरहनु भएको छ । अहिलेसम्मको छलफल सकारात्मक नै छ ।’

छलफल सकारात्मक भएकाले आजै सभापति देउवाले प्रधानमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गर्ने जनाइएको छ । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र कांग्रेस नेतृत्वमा सरकारमा जान सहमत भएपनि जसपाभित्र दुई कित्ता हुदा कांग्रेसलाई बहुमत पुर्‍याउन अफ्ठ्यारो परेको हो । जसपालाई एक ढिक्का बनाउन नेताहरुले कसरत जारी राखेको र अहिले देउवासंगको भेटमा जसपाको महन्थ ठाकुर राजेन्द्र महत्तो पक्ष लचिलो बनेको हो ।

एमालेको माधव नेपाल अन्यौलमा

जसपाले साथ छाडेमा राजीनामा दिएरै भएपनि ओलीलाई ओलीलाई सत्ताच्यूत गर्न पछि नपर्ने बताएको एमालेको माधव नेपाल समूह भने अन्यौलमा परेको छ । आजै नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेपछि कांग्रेसलाई साथ दिने कि नदिने भन्नेमा दुविधामा परेको छ ।

नेपाल समूहको आधिकारीक निर्णय गर्न अहिले बैठक जारी रहेको नेता गोकर्ण विष्टले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको कारबाही फुकुवा गरेको हो । एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पार्टीले निलम्बन गरेसंगै नेपाल समूह ओलीसंग रुष्ठ बनेको थियो । सो समृहले कुनै पनि हालतमा ओलीलाई सत्ताबाट हटाउनुपर्ने बताएको थियो भने आफुहरुले राजिनामा दिएर भएपनि ओलीलाई हटाउने पक्षमा थिए । तर, नेपाल पक्षका प्रमुख नेताहरु नै राजीनामा दिन नहुने बताएपछि नेपाल पक्षको सामुहिक राजीनामा आउनेमा पनि अलमल भएको छ । आजको निर्णयले झन अन्यौलता थपेको छ ।

त्यस्तै कांग्रेस सभापति देउवाले जसपाको ठाकुुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका लागि सहमति खोज्ने कुरामा प्राथमिकता दिएका हुन् ।

विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको बुझिएको छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।

गठबन्धनको सरकार बनाउने संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तिमा २६ सांसदको साथ चाहिन्छ । दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले फेरि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ । तर, ओलीले फेरि पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement