कांग्रेस महाधिवेशन : लामो समयपछि ओली, प्रचण्ड र नेपालले एउटै मञ्च सेयर गर्ने


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आज तीन दलका एक नेता एउटै मञ्चमा देखिँदैछन् । नेकपा एमाले विभाजन गरेर गएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली एउटै मञ्चमा उपस्थित हुने भएका हुन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एउट पार्टीमा रहेका तीन नेता अहिले छुट्टा छुट्टै पार्टीको अध्यक्ष छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा फर्किएका हुन् ।

कांग्रेस महाधिवेशन दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ । ओली र प्रचण्ड एक वर्षदेखि एउटै मञ्चमा देखिएका छैनन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको विवादपछि उनीहरु सार्वजनिक कार्यक्रममा एकै ठाउँमा देखा परेका छैनन् ।

यस्तै नेकपामा हुँदा नै विवादमा रहेका ओली र नेपाल पनि पाँच महिनापछि एउटै मञ्चमा देखिँदैछन् । नेपालको दल नै अवैधानिक रहेको भन्दै ओलीले एमालेको १० औं महाधिवेशन निम्तो नै दिएका थिएनन् ।

प्रचण्डलाई निम्तो दिएपनि उनले आफू उपस्थित भएनन् । उनले स्थायी कमिटी सदस्य लिलामणि पौडेललाई पठाएका थिए । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने आफैं एमालेको महाधिवेशनमा उपस्थित भएका थिए । स्वास्थ्यमा समस्या देखिएपनि एमालेको महाधिवेशनमा देउवा आफैं उपस्थित भएकाले ओली सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement