संसद्‍बाट प्रतिपक्षी दलका नेताको प्रश्न, ‘हाम्रा प्रधानमन्त्री कहाँ, के गर्दैछन् ?’

संसद्‍बाट प्रतिपक्षी दलका नेताको प्रश्न, ‘हाम्रा प्रधानमन्त्री कहाँ, के गर्दैछन् ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्प्रति जवाफदेहिता देखाउन नसकेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आङ्देम्बेले संसद् सरकारको प्रतिस्पर्धी नभई राज्यको जनप्रतिनिधिमूलक संस्था भएको बताए।

उनले संसदीय परम्पराअनुसार सरकारले संसद्प्रति जवाफदेही हुनुपर्ने बताए। ‘सरकार आफ्नो ठाउँमा छ कि छैन । सरकार र संसद् अलग-अलग जस्तो गरिएको छ,’ उनले भने।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानु उनको दायित्व भए पनि फर्किएपछि संसद्लाई त्यसबारे जानकारी गराउनुपर्ने आङ्देम्बेको भनाइ थियो।

‘प्रधानमन्त्री राष्ट्रसंघमा जानु उनको दायित्व हो । प्रधानमन्त्रीले राम्रै र आवश्यक विषय उठाएको भन्ने ठान्नुभएको भए राम्रै हो,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा मुख्य हो । हाम्रा लागि त्यो मुख्य मुद्दा थियो । प्रधानमन्त्रीले त्यहाँ कुरा राखेका पनि छन् । तर उनले जाँदा र आएपछि संसद्लाई जानकारी गराएनन् । आखिर उनले के बोले ? संसद्लाई थाहा दिनुपर्दैन ?’

प्रधानमन्त्रीले संसद्प्रति संसदीय जवाफदेहिता प्रदर्शन गर्न नसकेको उनले आरोप लगाए। ‘संसद्लाई तपाईंले जानकारी त दिनुभएन नै, राष्ट्रसंघबाट फर्किएर आएपछि त्यहाँ भएका गतिविधिबारे जानकारी दिने काम भएन,’ उनले भने।

आङ्देम्बेले प्रधानमन्त्रीले सबै परम्परा भत्काउने र तोड्ने भन्दै अघि बढ्दा त्यसको असर आफैंलाई पर्न सक्ने चेतावनीसमेत दिए।

‘सबै परम्परा भत्काउँछु र तोड्छु भन्दा प्रधानमन्त्री आफैं बुमर्याङमा नपरून्,’ उनले भने।

प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको विषय उठाउँदै उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीले संसद्मा नआएर जेन-जीलाई के सिकाउन खोजेका हुन् ?’

उनले प्रधानमन्त्री कुन उचाइको दम्भमा छन् भन्ने प्रश्न गर्दै संसद् र प्रतिपक्षका प्रश्नको सम्मान गर्न आग्रह गरे।

‘हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीले संसद्लाई सम्मान गरून् । प्रतिपक्षीको प्रश्नको पनि सम्मान गरून्,’ आङ्देम्बेले भने, ‘प्रश्नबाट भाग्ने शासन कमजोर हुँदैछ।’