गिरोहबाट पार्टी सञ्चालन भएको भन्दै कांग्रेस नेताहरूले गरे देउवाको कडा आलोचना


काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन्।

 

पार्टी विधान भन्दा पनि गिरोहबाट सञ्चालन भएको भन्दै नेताहरूले बिहीबारको केन्द्रीय समितिको बैठकमा सभापति देउवाको कडा आलोचना गरेका हुन्।

 

बैठक राष्ट्रियसभाको निर्वाचनको तयारीका भनेर डाकिएको थियो। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको समूहका नेताहरूले निर्वाचनको गहिरो समीक्षा हुनुपर्ने धारणा राख्दै नेतृत्वको कार्यशैलीमा प्रश्न उठाए।

 

देउवा राष्ट्रियसभामा मात्रै केन्द्रित हुन थालेपछि कल्याण गुरुङले हस्तक्षेपको प्रयास पनि गरेका थिए ।

निर्वाचनको पराजयको विषयमा आक्रामक रुपमा प्रस्तुत भएका कांग्रेस नेता अर्जुनरसिंह केसीले विधान विपरित सञ्चालन हुनुको मुख्य दोषी सभापति रहेको बताए।

 

बैठकमा बोल्ने क्रममा केही सदस्यले पार्टी सभापतिको नाममा छायाँ सभापतिहरुले दल सञ्चालन गरेको भन्दै आपत्ति जनाएका थिए। उनीहरुले समानुपातिकतर्फका उम्मेदवार छनौट गर्दा संसदीय समितिमा छलफल पनि नभएको विषय उठाएका थिए ।

 

 

केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे पुनःबस्नेछ।कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement