४ सय २७ नेपाली कतारमा अलपत्र


काठमाडौँ – कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल–थानीको हो ।

कतारका महत्वपूर्ण परियोजनाहरू बनाउने जिम्मा लिएको एजकेएचले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरूको चारदेखि ७ महिनाको तलब रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ । त्यस कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली रहेकाे खत्रबर अाजकाे कान्तिपुर दैनिकमा हाेम कार्कीले समाचार लेखेका छन् ।

अलपत्र परेका कामदारको गत मार्च २७ देखि काम रोकिएको हो । उनीहरूलाई कम्पनीले कतारको सनैयास्थित ३६, ४१ र अल्खोरस्थित क्याम्पमा राखिएको छ । ‘तलब नदिएपछि भोको पेटले काम गर्न सकिँदैन,’ ११ वर्षदेखि पेन्टिङको काम गर्दै आएका लमजुङका गणेशबहादुर तामाङले भने, ‘लेबरको चार महिनाको तलब र तीन महिनाको ओभरट्याम पाउन बाँकी नै छ ।’

कम्पनीमा उनीहरुलाई नियमीत छाक टार्न नै मुस्किल भइरहेको छ । ‘हामीले नजिकैको पसलबाट उधारोमा खाद्यान्न खरिद गर्ने गरेका थियौं । पसलेले उधारोमा सामान दिनसमेत बन्द गर्‍यो,’ उनले भने, ‘अरू कम्पनीमा काम गर्ने नेपाली साथीसँग पैसा माग्दै दही र रोटी खाएर छाक धानिरहेका छौं ।’

कम्पनीको व्यवस्थापन कामदारसित सम्पर्कमा छैन । कम्पनीमा कार्यालय सहयोगीबाहेक उच्च कर्मचारी कोही भेटिँदैन । प्रमुख व्यवस्थापकले जिम्मेवारी छाडिसकेको बताउँछन् । पीडित कामदारले तलब दिलाइदिनका लागि सनैया–११ स्थित श्रम कार्यालय (लेबर कोर्ट) मा मार्चको २५ तारिखमा नै उजुरी दिएका थिए । कम्पनीको कार्यालयमा कार्यरत कर्मचारीले भने दफनास्थित श्रम लेबर कोर्टमा उजुरी गरेका थिए ।

‘सुरुमा प्रहरी कार्यालयमा पुग्यौं । प्रहरीले लेबर कोर्ट जाऊ भन्यो । हामी लेबर कोर्टमा गएर उजुरी गर्‍यौं । लेवर कोर्टले पहिलो चोटी एक साता, दोस्रोपटक १५ दिन र तेस्रो पटक २१ दिनको समय दिएको छ,’ स्याङ्जाका बाबुराम खनालले भने,‘एकपछि भाका सर्दै गएपछि हाम्रो स्थिति झन दयनीय बन्दै गएको हो ।’

पीडितले नेपाली दूतावास, कतार राष्ट्रिय मानव अधिकार समिति र अन्तर्रा्ष्ट्रिय श्रम संगठनको कार्यालयमा तलब दिई उद्धार गरी पठाउन निवेदन दर्ता गरेका छन् । अधिकांश पीडितले तत्काल रोकिएको तलब दिई र टिकट काटेर स्वदेश पठाइदिन अनुरोध गरेका छन् । झन्डै ४० जनामात्रै अर्को कम्पनीमा काम गर्न तयार देखिएका छन् ।

‘पहिलादेखि नै तलब नियमित थिएन । एक महिनाको तलब दिएपछि अर्कोपटक दुई महिनापछि दिन्थ्यो । यसपालि निरन्तर तलब नदिएपछि हामीलाई छाक टार्न नै गाह्रो भयो । कम्पनीबाट सुख्खा १२ सय रियाल (३२ हजार रुपैयाँ) आउँथ्यो । त्यसैबाट खाना खर्च कटाएर परिवारलाई पठाउने गरिन्थ्यो ।

तलब नै नआएपछि आफुलाई यता समस्या छ । उता परिवारलाई गाह्रो भइसक्यो,’ तामाङले भने, ‘एक महिनाअघिसम्म कम्पनीको प्रतिनिधि आएर हामीलाई आश्वासन दिने गर्थ्यो । अहिले उनी पनि सम्पर्कमा छैनन् ।’

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार कतारको श्रम मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्न पहल भइरहेको छ । ‘हाम्रो कम्पनीको मालिकसँग सम्पर्क स्थापित भएको छैन । यहाँको श्रम विभागका अधिकारीहरूसँग नियमित छलफल भइरहेको छ,’ उनले भने, ‘कतारी निकायले यस विषयलाई गम्भीर रूपमा लिएको देखिन्छ ।’

उनले कतारी निकायबाट खानाका लागि प्रबन्ध मिलाउने काम भइरहेको बताए । ‘खाना अभाव हुन नदिन आवश्यक खाद्यान्न उपलब्ध गराउन कतारी निकाय तयार देखिएका छन्,’ उनले भने, ‘नेपाल नपठाउँदासम्म खानाको अभाव हुने छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement