बाढी-पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना (फाेटाेफिचर सहित)


काठमाडौं– नेपाली सेनाले देशका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको बाढी र पहिरोमा फसिरहेका ३ सय ५८ जनाको सकुशल उद्दार गरेको छ । सेनाले बाढी पहिरोबाट अतिप्रभावित झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाडाैं, ललितपुर र काभ्रेपलान्चोकसहित २१ जिल्लाबाट ती मानिसहरुको सकुशल उद्दार गरेको हो ।

यस्तै सेनाले बाढी र पहिरोमा परेर निधन भएका सात जनाको शव निकालेर परिवारको जिम्मा समेत लगाएको छ । बाढी र पहिरोमा हराइरहेका ६ जनाको खोजीकार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सेनाले पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग, काठमाडौं–हेटौंंडा, भोजपुर–खोटाङ लगायत अवरुद्ध सडक खुलाएर सवारी आवागमन सुचारु गराएको छ । यस्तै सेनाले आफूसँग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषाको धारापानी र काठमाडाैंमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ ।

 विगतका वर्षहरुमा बाढीरपहिरोबाट भएको क्षतिहरुलाई मध्यनजर गरी विपद्को उच्च जोखिम भएका स्थानहरुमा नेपाली सेनासंग उपलब्ध भएका विभिन्न किसिमका डुङ्गालगायत अन्य उद्धारका सामग्रीहरुसहित Combat Quick Reaction Team तयारीमा राखिएको छ । चितवनस्थित २ नं. विपद् व्यवस्थापन गणबाट रवरबोटसहितको CQRT रौतहटको चन्द्र निगाहपुरतर्फ उद्धार कार्यको लागि खट्टिएको छ ।

 सेनाले बाढी प्रभावित २१ जिल्लाको ३२ स्थानमा ८ हजार जना फौज परिचालन गरेको छ । साथै गृह मन्त्रालयबाट बाढीरपहिरो प्रभावित ईलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement