बाढी-पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना, १८६ जनालाई सुरक्षित स्थानमा सारियो (फोटोफिचर सहित)


काठमाडौं – नेपाली सेनाले देशका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको बाढी र पहिरोमा फसिरहेका ७२३ जनाको सकुशल उद्धार गरेको छ, भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

वर्षाका कारण देशका २६ जिल्लाको विभिन्न स्थानहरुमा बाढी, पहिरो, डुवान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको र जनधनको थप क्षतिको सम्भावनालाई न्युनिकरण गरी जनजीवनलाई सामान्य अवस्थामा ल्याउन नेपाली सेनाले १५००० फौज परिचालन गरी हालसम्म ७२३ जनाको सकुशल उद्धार गरिएको छ भने, १८६ जनालाइ सुरक्षित स्थानमा सारिएको हो ।

साथै सेनाले बेपत्ता भएकाहरुको खोजी कार्य समेत जारी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । अविरल वर्षासंगै गएको पहिरोका कारण फर्पिङ्ग-थाकेल-कुलेखानी सडक, दक्षिणकाली-सिस्नेरी-कुलेखानी, स्याफ्रुवेशी-टिमुरे-रसुवागढी सडक खण्डका विभिन्न स्थान, बेशीशहर-चामे सडक खण्डको कार्दिखोला पुल र बेनी-जोमसोम सडक खण्डको घोप्टेभीर खण्ड अवरुद्ध भएकोमा उल्लेखित स्थानहरुमा फौज परिचालन गरी यातायात आवागमनमा सहज गर्न सहयोग गरिएको छ।

यसै गरी १४ स्थानमा तटबन्ध निर्माण, ९ स्थानमा पहिरो पन्छाउने कार्य, ४ स्थानमा विद्युत प्रशारण लाईनको सुरक्षार्थ मरामत गर्ने कार्य, सात स्थानमा खोला, ढल, नाली खोल्ने कार्य भएको साथै सिराहा जिल्लाको सिराहा न.पा. १०, १२ मा राहत वितरण र रौतहटको गौरस्थित जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित राहत वितरण कार्यक्रममा सहयोग गरेको र अन्य उद्धारका कार्यहरुलाई निरन्तरता दिइरहेको छ।

खोज, उद्दार तथा राहतको लागि काठमाडौंमा २ वटा एमआई १७ हेलिकप्टर ,एउटा एलएच,एउटा Augusta र एउटा इक्युरेल हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने ईटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआई १७ हेलिकप्टर स्ट्याण्डबाईमा राखिएको छ । कतिपय प्रभावित ईलाकाहरुमा हवाई साधनद्वारा उद्दारको प्रयास गरिएता पनि खराब मौसमको कारण उडान तथा अवतरण गर्न समस्या देखिएकोमा मौसममा सुधार आउनासाथ सो कार्यलाई तिव्रताका साथ निरन्तरता दिईने भएको छ ।

कुलेखानीस्थित ड्‍याममा सोमबार विहान पानीको घनत्व ३० मिटर पुगेकोले खतराको संकेत देखिएको र जोखिम-क्षतिलाई बढ्न नदिन उक्त स्थानमा सेनाले स्काभेटरको प्रयोग गरी ढुंगा भर्नुको साथै टाटपोलिन विछ्याई बचाउको उपाय ;समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement