सहायक सेनानीमा बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार प्रधानसेनापति शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानीपदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरुप बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई प्रधानसेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा,बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै बढुवा भएका अधिकृतहरुका परिवारजनको उपस्थिति थियो ।

 लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभव हासिल गरेका पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना भएको र सकलदर्जाको हौसला अभिवृद्धि हुन पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement