पहिला म नेपाली सेनाको सदस्य र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्नु :प्रधानसेनापति शर्मा


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको दश करोडको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताएका छन्  । शुक्रवार त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले उक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा नेपाली सेनाको छविलाई अभिवृद्धि गर्न योगदान दिने प्रशिक्षक र खेलाडीहरुलाई शुभकामना दिएका छन् ।

त्यस्तै प्रधानसेनापति शर्माले खेलकुदका माध्यमबाट समग्र नेपाली सेनाको प्रतिनिधित्व गर्दै नियमित रुपमा आम नागरिकहरुसँग सम्पर्कमा रहने सम्पूर्ण नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरु नागरिक-सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतुका रुपमा स्थापित रहेको उल्लेख गर्दै सम्पूर्ण खेलाडीहरुलाई आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिष्पर्धामा सहभागी हुँदा सबै भन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।

उनले “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९” मा आफुलाई प्राप्त प्रशिक्षणलाई मनन् गर्दै आफ्नो क्षमता प्रदर्शन गरी बढी भन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै पुन: त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन सम्पूर्ण प्रशिक्षक तथा खेलाडीहरुलाई शुभकामना दिएका थिए । उक्त कार्यक्रममा “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९” को रनिङ्ग ट्रफी समेत प्रदर्शनी गरिएको थियाे ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको थियाे । नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement