सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपाली सेनासहित १० देशका अधिकृत्तहरु सहभागि


काठमाडौं – काठमाडौंको शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२६ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ भएको छ ।  मंगलबार कमाण्ड तथा स्टाफ तालिमका निमित्त बलाधिकृत रथी शरद गिरीले एक विशेष कार्यक्रमकाबीच शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा निमित्त बलाधिकृत रथी गिरीले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना समेत दिएका थिए । भने कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सोहि अवसरमा उक्त कलेज परिसरमा रहेको कैलाश ग्रीन ग्राउण्ड ईलाकामा तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले पहिलो पटक आ-आफ्नो देशको झण्डोतोलन समेत गरेका थिए ।  तालिममा नेपाली सेनाका तर्फबाट ५० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १-१ गरी ३ अधिकृतहरु लगायत मित्रराष्ट्र श्रीलङ्का, चीन, दक्षिण कोरिया, नाईजेरिया, पाकिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स, लेवनान, र संयुक्त राज्य अमेरिकाका १-१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६३ जना अधिकृतहरु सहभागी भएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ८७१, विभिन्न मित्रराष्ट्रहरुका ७३, नेपाल प्रहरीबाट १०, सशस्त्र प्रहरी बलबाट २२, राष्ट्रिय अनुसन्धान विभागबाट १३ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ९९० जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरी सकेका छन् ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, त्रि.वि.का पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनीतिक नियोगका सैनिक सहचारीहरु, पूर्व शिक्षाधिकृतहरु, विदेशी शिक्षार्थीहरुका कम्युनिटी स्पोंसरहरु, नेपाली सेनाका अधिकृतहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement