नेपाली सेनाको हेलिकोप्टर सगरमाथाको फोहोर ओसार्दै (फोटोसहित)


काठमाडौं – नेपाली सेनाले सगरमाथा हिमाल सफाई अभियान सुरु गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आयोजना गरेको वन्यजन्तु सप्ताह अनुसार शुरु भएको उक्त अभियान सेना लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको संयुक्त प्रयासमा संचालन भएको हो । अभियान वैशाख १ बाट सुरु भएको थियो ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थालिएको सफाइ अभियानका क्रममा पहिलो चरण अन्तर्गत संकलित फोहोर काठमाडौं ल्याइएको छ । यस वर्षको सफाइ अभियानका क्रममा खुम्बु क्षेत्रबाट संकलन भएको फोहोरलाई पहिलो चरण अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो ।

नेपाली सेनाको हेलिकोप्टरले यस वर्ष पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलन गरिएको एक दशमलब पाँच टन फोहोर काठमाडौं ल्याएको जनसमपर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ । सगरमाथा क्षेत्रको सफाइमा सहगभागी भएको सेनाले आफ्नै हेलिकोप्टरमार्फत पहिलो पटक फोहोर ल्याएको हो । पहिलो चरणअन्तर्गत काठमाडौं ल्याइएको फोहोरलाई सेनाले ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरेको छ ।

व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चेमा नै व्यवस्थापन गरी प्रशोधन गर्न मिल्ने फोहोरमात्रै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएको फोहोरलाई भने ब्ल्यू वेस्ट टु भ्यालु नामक संस्थाले व्यवस्थापन गर्ने छ । गत वर्षदेखि ब्ल्यू वेस्ट टु भ्यालुले सगरमाथा क्षेत्रमा संकलित फोहोरलाई व्यवस्थापन गर्दै आएको र उक्त फोहोरलाई पहिला म्याटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मा लगेर विभिन्न भागमा छुट्याइने संस्थाका म्यानेजर आशिष खनालले जानकारी दिए । उनका अनुसार त्यसरी छट्याइएको फोहोरको तौल मापन गरी प्रशोधनका लागि पठाइने छ ।

सगरमाथा सरसफाइ अभियान २०१९ आगामी जेठ २२ गतेसम्म जारी रहने छ । सफाइका क्रममा संकलित केही फोहोर सामग्रीलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन मे २९ मा नाम्चेमा प्रदर्शन गर्ने र उक्त फोहोर सामग्रीलाई विश्व वातावरण दिवसको अवसरमा जुन ५ अर्थात जेठ २२ गते काठमाडौंमा पनि प्रदर्शन गरिने छ । यस वर्ष सफाइ अभियानका क्रममा सगरमाथाबाट ५ हजार केजी र सगरमाथाको अन्य क्षेत्रबाट ५ हजार केजी गरी १० हजार केजी अर्थात १० टन फोहोर संकलन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement