प्याराग्लाइडिङमा आफैं खेलाडी उत्पादन गर्दै नेपाली सेना


उदयपुर – प्याराग्लाइडिङ खेलमा आफ्नै खेलाडी प्रतिस्पर्धामा उतार्ने उदेश्यले नेपाली सेनाले शनिबार १५ दिने प्याराग्लाइडिङ प्रशिक्षण तालिम सञ्चालन सम्पन्न गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–८ मा सेनाले सञ्चालन गरेको उक्त प्रशिक्षण तालिममा सेनाका २४ जनाले प्रशिक्षण लिएका छन् । प्याराग्लाइडिङ नेपालमै नयाँ खेल हो । कास्की, स्याङ्जा र पूर्वको सुनसरीलगायत क्षेत्रमा व्यावसायिक रूपमा उडान भर्दै आएका पाइलट र व्यवसायीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्याराग्लाइडिङ संघ दर्ता गरेपछि नेपाली प्याराग्लाइडिङले गत वर्ष भदौमा इन्डोनेसियामा सम्पन्न १८औँ एसियन खेलकुद प्रतियोगितामा सहभागितासमेत जनाएको थियो ।

सो प्रतियोगितामा नेपाली प्याराग्लाइडिङले रजतपदक जितेको थियो । त्यससँगै नेपालमा प्याराग्लाइडिङ खेलको विस्तार सुरु भएको हो । त्यसपछि गत वैशाखमा नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक सहभागी गराइएको प्याराग्लाइडिङतर्फको स्वर्ण सेनाले नै जितेको थियो । यद्यपि, त्यसवेला सेनाले अन्य खेलाडीलाई भाडामा लिएको थियो । सेनाले आगामी प्रतियोगिताका लागि भने आफ्नै खेलाडी प्रतिस्पर्धामा उतार्ने उद्देश्यले प्रशिक्षण आयोजना गरेका जनाएको छ । प्रशिक्षणमा पश्चिम पृतना पोखराका प्रमुख सेनानी अर्जुन बस्नेतसमेत सहभागी भए ।

प्रशिक्षणमा जवान खगिता सिन्जाली पनि सहभागी थिइन् । उनी राखेप च्याम्पियनसिपमा एथलेटिक्सको हाइजम्पतर्फ च्याम्पियन बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement