भोटेकोसी बाढी : सेनाको खोज तथा उद्धार जारी, १० वटा हेलिकोप्टर परिचालन, २० वटा स्ट्यान्डबाइ

भोटेकोसी बाढी : सेनाको खोज तथा उद्धार जारी, १० वटा हेलिकोप्टर परिचालन, २० वटा स्ट्यान्डबाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको प्रयास बिहीबार बिहानैदेखि जारी छ ।

नेपाली सेनाका अनुसार हवाई तथा जमिनी मार्गबाट गरी कुल १७७ जनाको सफल उद्धार गरिएको छ।

उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले १० वटा हेलिकप्टर परिचालन गरेको छ। सेनाले रातभर ११ वटा विशेष टोलीले जमिनी उद्धार कार्यलाई निरन्तरता दिएका थिए।

बाढीबाट प्रभावित नुवाकोटदेखि चितवनसम्मको क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि २ हजार भन्दा बढी सैन्य फौज खटाइएको छ।

राहत सामग्री व्यवस्थापनका लागि सेनाका ११ वटा ट्रकमार्फत सामग्री त्रिशूलीसम्म पुर्‍याइएको छ। त्यहाँबाट आवश्यकता अनुसार हेलिकप्टर प्रयोग गरी टिमुरेलगायत प्रभावित क्षेत्रहरूमा पुर्‍याउने काम भइरहेको छ। हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको छ।

त्यस्तै, घाइतेहरूको द्रुत उपचारका लागि त्रिशूलीमा थप मेडिकल टिम परिचालन गरी उपचार कार्यलाई अगाडि बढाइएको छ।

प्रभावित क्षेत्रमा थप उद्धार कार्यलाई तीव्र बनाउन २० वटा हेलिकोप्टर परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बिहीबारदेखि २० वटा हेलिकोप्टर तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । साथै, बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन गरिएको जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिनेछ ।

निर्धारण गरिएको प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने जनाइएको छ ।