नेपालले चिया निर्यातका लागि वैकल्पिक बजार खोज्दै

नेपालले चिया निर्यातका लागि वैकल्पिक बजार खोज्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले नेपाली चियामा एकपछि अर्को अवरोध गरेपछि नेपालले वैकल्पिक बजारको खोजी सुरु गरेको छ ।भारतले गुणस्तर जाँचका नाममा नेपालमा उत्पादित चियामा कडाइ गरेपछि नेपाल सरकारले अब चिया निर्यातका लागि नयाँ बजार खोज्ने तयारी गरेको छ ।

सरकारी अधिकारीहरूले सरकारलाई नेपाली चियाको गुणस्तर सुधार्दै नयाँ अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । यसको मुख्य उद्देश्य भारतमाथिको निर्भरता क्रमशः घटाउनु हो ।

भारतले नेपालबाट आयात हुने चियाको गुणस्तर परीक्षण प्रक्रिया कडा बनाएपछि मे १ देखि नेपाली चियाको भारत निर्यात लगभग ठप्प भएको थियो । नेपालको करिब ८६ प्रतिशत चिया भारतीय बजारमै बिक्री हुने गरेको छ ।

भारतीय अवरोधका कारण करिब १३ लाख किलोग्राम नेपाली चिया प्रभावित सीमामा रोकिएको थियो भने नेपाली चिया उद्योगले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो ।

यद्यपि कूटनीतिक पहलपछि भारतीय अधिकारीहरूले केही सहजीकरण गर्न सहमति जनाएपछि निर्यात जुन ३० देखि नेपाली चियाको भारत निर्यात सहज बनेको छ । भारतको पटकपकटको अवरोध र कडाइका कारण अब नेपाल चिया निर्यातका लागि भारतमा मात्र निर्भर नरहने सरकारी अधिकारीहरूले संकेत गरेका छन् ।

सरकारी अधिकारीहरूले सरकारलाई युरोप र जापान नेपाली चियाका लागि सम्भावित उत्कृष्ट बजार हुन सक्ने सुझाव दिएका छन् । नेपालका चिया व्यवसायीहरू पनि अब उच्च गुणस्तरको चिया उत्पादनमा विशेष ध्यान दिने बताउँछन् ।

अधिकारीहरूका अनुसार भारतले नेपाली चियामा लगाएको प्रतिबन्धले नेपाललाई ठूलो पाठ सिकाएको छ ।

भारतले गुणस्तर परीक्षणको बहानामा नेपाली चियामा रोक लगाएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले सरकारलाई वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोज्न सिफारिस गरेको छ । यद्यपि उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले भने, ‘हामीले अब चियाको गुणस्तर सुधार र बजार विविधीकरणमा ध्यान केन्द्रित गरेका छौं ।’

खनालका अनुसार चिया उत्पादकहरूलाई आफ्नो उत्पादनको गुणस्तर अझ सुधार गर्न आग्रह गरिएको छ । चीन, पाकिस्तान, अमेरिका र युरोप नेपाली चियाका सम्भावित नयाँ बजार हुन सक्ने बताउँदै उनले भने, ‘तर भारतीय बजारलाई बेवास्ता गर्न भने सकिदैँन ।’

खनालका अनुसार नेपालको करिब ८६ प्रतिशत चिया भारत निर्यात हुन्छ । साथै, अधिकांश चिया बगान भारतसँग सीमा जोडिएको कोशी प्रदेशका इलाम र झापा जिल्लामा रहेकाले चिया प्रशोधनका लागि धेरैजसो अनुभवी भारतीय प्राविधिकको सेवा लिने गरिएको छ ।

नेपालले हाल सीटीसी र अर्थोडक्स दुवै प्रकारका गरी वार्षिक करिब २ करोड ६५ लाख किलोग्राम चिया उत्पादन गर्छ । जसमा प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी श्रमिक संलग्न छन् ।