नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न उपराष्ट्रपति पुनको अपिल


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई अपिल गरेका छन्। उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे।

बुधबार काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको पनि स्मरण गराए।

उपराष्ट्रपति पुनले नेपालको कला र संस्कृतिको संरक्षण नभए नेपालनै नरहने अवस्था आउनेतर्फ पनि सचेत गराए। उनले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तराष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गरे। ‘कला र संस्कृतिमा सबैको पहुँच, नेपाल’ ले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’द्धारा सम्मान गरिएको थियो।

त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपालको भाषा, कला र संस्कृतिको संरक्षणमा मह जोडीले पु¥याएको योगदानको पनि चर्चा गरेका थिए। कार्यक्रममा नेपालको विभिन्न भाषा, कला र संस्कृति झल्कने खालका प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement