नेपाली सेनाको पाेखरामा विपत व्यवस्थापन सैन्य अभ्यास : तालमा डुबेका १७ जनाको उद्धार


पोखरा – शुक्रबार दिउँसो फेवातालमा दुई डुंगा एक्कासी डुबे। डुंगाडुबेसँगै तालमा डुबेका २० जना एक्कासी गुहार गुहार भन्दै कराउन थालपछी । तीन मोटरबोट उद्धार गर्न घट्नास्थल पुगे। १७ जनाको तत्कालै उद्धार भयो। डुबेका तीन भेटिएनन्। गोताखोरको प्रयोग गरी तालमा हराएका तीन जनाको खोजी भयो। तालमाको पिधबाटै तीन जनालाई उद्धार गरियो। तत्कालै दुई सैनिक हेलीकप्टर तालमाथी देखा परे। एउटा हेलीकप्टरले डोरीबाट बास्केटसहित उद्धारकर्मी तालमै झायो। एक जनालाई त्यसै बकेटमा राखेर उद्धार गरियो।

बाँकी दुई घाइतेलाई लिन अर्को हेलीकप्टर तालमाथी डोरीसहित आइपुग्यो। डोरीकामा झुन्डिएर उद्धारमा खटिएका नेपाली सेनाका ४ उद्धारकर्मी तालमा झरे। उद्धारमा खटिएका नेपाली सेनाका उद्धारकर्मीले कुशलता पूर्वक डोरीमा घाइतेलाई समेत आफूसँगै राखेर सुरक्षित रुपमा हेलिकप्टरमा झुन्डिएर फेवातालबाट करिब ५ किलोमिटर परको पोखरा विमानस्थलमा झार्यो। विमानस्थलमा एम्बुलेन्स पुगी सकेका थिए। उद्धार गरिएका घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगियो। यो दृश्य नियाली राखेका स्थानीय भने तालमा के भएको रहेछ भन्दै चकित परिरहेका थिए ।

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा पोखरामा ६ दिनदेखि चली रहेको विपत व्यवस्थापन सम्बन्धी सैन्य अभ्यास तथा तालिमका लागि नेपाली सेनाले बिपत पर्दा हुने जोखिमका बेला गर्ने उद्धार कौशलको तालिम लिइरहेका थिए। पोखराको मौजा केन्द्र बिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प आएको स्क्रिप्ट तयार गरेपछि हुने बिपतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा केन्द्रित भएर शुक्रवार फेवातालमा अभ्यास भएको थियो। भूकम्प गएपछि जाने पहिरो, बाढी, घर भत्कदा हुने मानवीय क्षति, घाइतेको उद्धारको चुनौतीलाई मध्यनजर गर्दै अभ्यास भएको हो।

सैन्य अभ्यासमा अमेरिका, नेपालसहित श्रीलंका, माल्दिभ्स, इण्डोनेसिया, बंगलादेश, क्यानडासहति ६ देशको सहभागिता रहे पनि तालमा भएको उद्धार अभ्यास भने नेपाली सेनाको मात्र सहभगीता रहेको थियो। विदेशी सैनिकले भने उद्धार अघि कसरी उद्धार गर्ने भन्ने रणनीति बनाउन नेपाली सेनासंगै सहभागी भएको बताइएको छ। उद्धारका अभ्यासको अवलोकन र उद्धारपछि उद्धारका क्रममा भएको अभ्यासका बारेमा छलफलमा पनि विदेशी सैनिकको सहभागीता रहने गरेको बताइएको छ।

‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका हुन्। नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ। जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २२० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीतबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement