एआईजीको दरबन्दी थपसंगै विश्वराज पोखरेलको आईजीपी बन्ने बाटो खुल्यो


काठमाण्डु– सरकारले एक जना एआईजीको दरबन्दी सिर्जना गरेसंगै डीआईजी विश्वराज पोखरेलको भावी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने बाटो खुला भएको छ । हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका डिआईजी पोखरेल वरियताका आधारमा एआईजी बन्नेछन् । सरकारले महानगरीय प्रहरी कार्यालयको प्रमुख एआईजी रहने व्यवस्था समेत गरेको छ ।

उनि एआईजीमा बढुवा भएसंगै त्यसको नेतृत्वमा केही समय रहनेछन् । यसअघि नै प्रहरीमा दुई जना एआईजीको बढुवा हुंदा उनि बढुवाको दौडमा लागेका थिए । एआईजी बढुवाको लाईनमा रहेका प्रधुम्न कार्की र निरज शाहीको ठाउंमा पोखरेललाई एआईजी बनाउन चर्को दबाव भएपनि प्रहरी महानिरीक्षक शैलेश थापाले वरियता नमिच्ने अडान लिएपछि उनको बढुवा रोकिएको थियो ।

पोखरेललाई बढुवा गर्नको लागी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरादेखी तत्कालिन अख्तियार प्रमुख नविन घिमिरेसम्मको सरकारमाथी दबाव थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत उनलाई एआईजी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले पछि दरबन्दी थप गरेर भएपनि एआईजी बनाउने बचन दिएपछि उनको प्रयास रोकिएको थियो ।

पोखरेल नेपाल प्रहरीमा व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनको प्रचारमुखी स्वभाव भएपनि हालसम्म कुनै विवादमा भने उनि आएका छैनन् । पोखरेल डीआईजीमा बढुवा हुंदा समेत एकल बढुवा भएका थिए । उनि ०७६ वैशाखमा डिआईजीमा बढुवा भएका थिए ।

उनका ब्याचीभन्दा एक वर्षअघि डिआईजी भएका पोखरेलको एआईजीको दरबन्दी थप भएसंगै भावी महानिरीक्षकको बाटो समेत खुलेको हो । उनलाई केही दिनभित्र नै एआईजी बनाउने सरकारको तयारी छ । पोखरेलको भावी नेतृत्वको लाईनलाई सुनिश्चित गर्नकै लागी सरकारले एआईजीको दरबन्दी थपेको धेरैको अनुमान छ ।

नेपाल प्रहरीमा महानिरीक्षक हुन अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । पोखरेल एकल एआईजीमा बढुवा भए भने नेपाल प्रहरीमा भावी महानिरीक्षकको लागी हुने अस्वस्थ प्रतिस्पर्धाको समेत अन्त्य हुने धेरैको विश्वास छ ।

पोखरेलसंगै भावी महानिरीक्षकका लागी डिआईजी सहकुल थापाको समेत सम्भावना थियो । तर, पोखरेलको बढुवा हुने निश्चित भएसंगै अव भावी आईजीपीको खेल लगभग टुंगिएको छ । उनकै ब्याचका डिआईजीहरु उत्तम सुवेदी र धिरजप्रताप सिंहलाई पनि भावी महानिरीक्षकको प्रतिस्पर्धीका रुपमा लिइएको भएपनि अव यो व्याचबाट पोखरेल नै महानिरीक्षक बन्ने सम्भावना बलियो छ ।

वरियतामा पोखरेलपछि थापा भएपनि उनको छवी प्रहरीमा त्यति राम्रो नभएको बताइन्छ । उनी डिआईजी बढुवा हुंदा सिंह र सुवेदीलाई समेत पाखा लगाएर एक नम्बरमा आउन सफल भएका थिए । पोखरेलकै व्याचका सुवेदी र डिआईजी अरुण विसी समेत राम्रा प्रहरी अधिकृतका रुपमा चिनिएपनि उनिहरुलाई डिआईजी बढुवा हुंदा वरियतामा पछि पारिएको थियो ।

हालका आईजीपी शैलेश थापा र एआईजीहरु हरि पाल,प्रधुम्न कार्की र निरज शाहीले २०७९ वैशाख १९ गते अवकास पाउनेछन् । त्यसपछि पोखरेल नेपाल प्रहरीको एक बर्ष प्रहरी महानिरीक्षक बन्नेछन् भने एआईजीमा बढुवा भएपछि डेढ वर्ष एआईजीको जिम्मेवारी सम्हाल्नेछन् । प्रहरीमा ३० वर्ष सेवाअवधी हटे उनि त्योभन्दा बढी समय पदमा कायम रहनेछन् ।

२०४९ चैत २९ गते प्रहरी निरीक्षकका रुपमा पोख्रेलले सेवा प्रवेश गरेका हुन् । पोखरेलसंग नेपाल प्रहरीका महत्वपुर्ण विभागमा बसेर काम गरिसकेको अनुभव छ । उनि डीएसपी हुँदा बानेश्वर वृत्त प्रमुख भएका थिए । एसपी छँदा कर्मचारी प्रशासन शाखा र मोरङ प्रहरी प्रमुखको रुपमा उनले काम गरेका थिए । त्यसैगरी एसएसपी हुँदा पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौं र डीआईजीमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement