अमेरिकाले कालोसुचीमा राखेका जनरल चीनको रक्षामन्त्रीमा नियुक्त


एजेन्सी-  चीनको नयां रक्षामन्त्रीमा ली साङफु नियुक्त भएका छन् । बेइजिङमा जारी नेशनल पिपुल्स कांग्रेसमा आइतबार उनको नाम नयां रक्षामन्त्रीका रुपमा समावेश भएको हो । चीनको सिचुवान प्रान्तमा जन्मिएका ली लाई अमेरिकाले प्रतिबन्धित सूचिमा राखेको छ । उनि जनमुक्ति सेनाको आधुनिकीकरण्का अभियानका एक अनुभवी जनरल हुन् ।

उनको नियुक्तिले अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रन सक्ने विश्लेषण हुन थालिएको छ । सन् २०१८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्प प्रशासनले उनी र उनले नेतृत्व गरेको उपकरण विकास विभागलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । उनलाई रुसी हतियार विक्रेता रोसोबोरोनेक्सपोर्टबाट चीनलाई सु ३५ लडाकु विमान र एस ४०० मिसाइल प्रणाली उपकरण हस्तान्तरणमा सहयोग गरेको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री लीलाई सन् २०१६ मा जनमुक्ति सेनाको नयां रणनीतिक सपोर्ट फोर्सको उपकमाण्डर बनाइएको थियो । चीनको अन्तरिक्ष र साइबर युद्ध क्षमताको विकासलाई तिव्र पार्ने जिम्मेवारी उनलाई थियो । उनले त्यसमा आफुलाई प्रखर रुपमा उतारेपछि अहिले त्यसको सम्मानस्वरुप रक्षामन्त्री बनाइएको हो । उनकै नेतृत्वमा चीनले एन्टी सेटलाइट मिसाइलको सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

ली चिनियां राष्ट्रपति सि जिनफिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगको उपकरण विकास विभागको प्रमुख थिए । उनलाई सन् २०२२ अक्टोम्बरमा केन्द्रीय सैनिक आयोगको सदस्य नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement