बुद्ध एयरकाे प्रष्टिकरण: मौसम खराब थियो, ६८ यात्रु छाडेर सञ्चारमन्त्रीलाई कुर्न सकेनौं


काठमाडौं–सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई नकुरी बुद्ध एयरको बिमान भैरहवाबाट काठमाडौं उडेको विषयमा बुद्ध एयरले धारणा सार्वजनिक गरेको छ।

आफू भैरहवा रहेकोमा सोमबार बेलुका काठमाडौं फर्कने कार्यक्रम रहेपनि बुद्ध एयरको विमान जानकारी बिना नै अगाडि नै उडेको मन्त्री बास्कोटाले मंगलबार विहान पत्रकार सम्मेलनमै बताएका थिए। उक्त खबर सार्वजनिक भएपछि बुद्धले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं ८५७ उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

‘काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो,’ विज्ञप्तिमा अगाडि भनिएको छ।

मौसममा खरावी आउने सम्भावनालाई मध्यनजर गरेर तुरुन्तै काठमाडौं फर्कन वाध्य भएको बुद्धको भनाइ छ।

बुद्धको विज्ञप्तीमा भनिएको छ, मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधा पर्नुका साथै आर्थिक व्ययभार पनि थपिन्थ्यो।’

बुद्धले सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व भएको भन्दै व्यवस्थापकिय निर्णय अनुसार सो उडान भरेको बताएको छ । बुद्धले वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको पनि जनाएको छ ।

सोमबार राति ८ बजे भैरहवाबाट उडेको उक्त विमान काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement