प्रसुति गृह र वीर अस्पतालका भवनको पुनर्निर्माण, प्रधानमन्त्रीद्वारा उद्घाटन


काठमाडौं— २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गरे।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माण गरिएको प्रसुति गृहमा १८२ शैया रहेका छन् भने वीर अस्पतालमा ९४ शैया छन् । यी दुइवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसुति गृहले पुर्याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणा अनुसार अत्याधुनिक र सुरक्षित भवन बनेकोमा खुशी व्यक्त गरे।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसुति गृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसुति गृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि आज उद्घाटन गरिएका जस्ता अस्पतालको पुनर्निर्माण गर्न आवश्यक भएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माणले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गरेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए। उनले स्वास्थ्य संस्था, निजी आवास, शैक्षिक संस्था, सम्पदा लगायतको पुनर्निर्माणमा धेरै काम भइसकेको बताउँदै बाँकी काम पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पुननिर्माण सम्पन्न भएका अस्पतालहरुबाट सेवा प्रवाह पनि बढ्ने विश्वास व्यक्त गरे।
प्रसुति गृहका निर्देशक जागेश्वर गौतमले भूकम्पपछि अस्पतालले दिने सेवा सुविधा खुम्चिएकोमा पुनर्निर्माणपछि पुनः विस्तार भएको बताए। उनले अस्पताल पुनर्निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए।
२०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माणको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement