ऊर्जा मन्त्री पुनद्वारा मौसम विभागको निरीक्षण, तथ्यपरक जानकारी दिने व्यवस्था मिलाउन निर्देशन


काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जल तथा मौसम विज्ञान विभागलाई साधन र स्रोत सम्पन्न बनाउन मन्त्रालयले आवश्यक पहल गर्ने बताएका छन्।

विभागको निरीक्षण गर्न पुगेका मन्त्री पुनले बाढी तथा मौसमको पूर्वानुमान गर्ने विषय वैज्ञानिक एवं व्यावहारिकसमेत हुनुपर्ने बताए। मसिनो गरी अध्ययन गर्न, कुन स्थानको मौसम के कस्तो रहन्छ भन्ने तथ्यपरक जानकारी दिने व्यवस्था गर्न मन्त्री पुनले निर्देशन दिए।

उनले थप जनशक्ति उपलब्ध गराउन मन्त्रालयले आवश्यक पहल गर्ने बताए। । ‘त्यसमा कुनै चिन्ता नलिनुस् तर नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिनुस,’ उनले भने।  खतरा रहेका स्थानका बारेमा जानकारी दिन निर्देशन दिँदै मन्त्री पुनले सानो प्रयासले पनि ठूलो नोक्सानी टर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।
विपद्को जोखिम न्यूनीकरण गर्न पनि पूर्वसूचना प्रणालीले ठूलो सहयोग पुग्ने भएकाले कुनै कमजोरी नगर्नसमेत मन्त्री पुनले आग्रह गरे।

मन्त्री पुनले एसएमएस प्रणालीलाई बढीभन्दा बढी क्षेत्रमा पुग्ने व्यवस्था गर्न, सञ्चारमाध्यम तथा अत्यावश्यक क्षेत्रलाई प्राथमकितामा राख्न आग्रह गरे। विमानस्थल निर्माणमा समेत वृद्धि भएको र मौसम तथा पूर्वानुमानको काम गर्ने जनशक्तिसमेत थप गर्दै जानुपर्ने देखिएको विभागका सिडिई हाइड्रोलोजी राजेन्द्र शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement