कुलेखानी पूर्ण क्षमतामा सञ्चालनमा, नेपालकाे बिजुली भारतमा निर्यात


काठमाडौं— तीन दिनसम्मको वर्षा र त्यसले विद्युत् आवागमनमा पारेको प्रभावका कारण नेपालमा भारतमा बिजुली निर्यात गर्न थालेको छ।

मुलुकमा विद्युत् खपत कम भएको र कुलेखानी जलाशय भरिएपछि उत्पादन बढेका कारण सरकारले इनर्जी बैंकिङको अभ्यास शुरु गरेर दैनिक २ सय मेगावाट बिजुली निर्यात गर्न थालेको हो।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबारदेखि भारततर्फ विद्युत् निर्यात गर्ने कामको सुरुवात भएको जानकारी दिएका हुन्। आइतबार १ सय ५० मेगावाट, सोमबार र मंगलबार २ सय मेगावाटका दरले नेपालबाट भारतमा बिजुली निर्यात गरिएको उनले जनाए।

नेपालमा उत्पादित विद्युत् विराटनगरको कटैया कुसाहा, वीरगन्जस्थित परवानीपुर–रक्सोललगायत सातवटा अन्तरदेशीय ट्रान्समिसन लाइनबाट भारत निर्यात गरिएको हो। वर्षापछिको बाढीका कारण तराईका अधिकांश भू–भाग जलमग्न हुँदा सो क्षेत्रमा विद्युत् कटौती हुन पुगेको छ ।

यसअघि नै नेपाल र भारतबीच विद्युत व्यापार तथा इनर्जी बैंकिङ सम्बन्धी सम्झौता भइसकेकाले नेपालमा विद्युत उत्पादन बढी हुने बित्तिकै भारततर्फ निर्यात गर्न संभव भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement