पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफकी छोरी भ्रष्टाचार अभियाेगमा पक्राउ


काठमाडाैँ- पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी पक्राउ परेकी छिन् ।

भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन्।

भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने मध्ये उनी पनि एक प्रभावशाली व्यक्ति हुन् । पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मार्यमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले पक्राउ गरेको हो ।

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको जनाइएको छ ।

उनका बुवा नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै छन् । नवाजलाई पनि भ्रष्टाचार सम्वन्धी अभियोग नै लगाइएको छ । उनी पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका थिए।

त्यसैगरी मार्यमको काका तथा पञ्जावका पूर्व मुख्यमन्त्री शाहबाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा छन् । उनका अन्य नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement