कर्णालीका पूर्वाधार मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश


काठमाडौँ—उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई  ३ दिनभित्र उपस्थित गराउन आदेश जारी गरेको छ।

बैंकिङ कसुर मुद्दामा आरोपित उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ। फर्जी बैंक ग्यारेन्टी गर्दा उनी जमानी बसेका थिए। त्यसविरुद्ध कृषि विकास बैंक रत्नपार्क जाहेरवाला थियो।बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको हो। मन्त्री खत्री आफैं ठेकेदार हुन्। मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ।

५५.५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।

उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पु¥याएको कृषि विकास बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement