उपराष्ट्रपतिले ध्यानाकर्षण गराएपछि सेनाकाे हेलिकोप्टरबाट सुत्केरीको उद्धार


काठमाडौं– दुई दिनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेकी पूर्वी रुकुमकी एक सुत्केरीको नेपाली सेनाकाे हेलिकोप्टरबाट उद्धार गरिएको छ।

पुथाउत्तरगंगा गाउँपालिका ६ मयाङकी २० वर्षीया मानिक नेपालीलाई गम्भीर अवस्थामा बुधबार साँझ उद्धार गरेर नेपालगञ्ज पुर्याईएको छ।
सुर्खेतबाट गएको हेलिकोप्टरले दोस्रो प्रयासमा उद्धार गरेको हो।

सुत्केरीको उद्वारका लागि बुधबार साँझ पुथाउत्तरगंगा गएको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम रुकुमकोट फर्किएको थियो।

बच्चा जन्माउन नसकेर मानिकको ज्यानै जोखिममा परेपछि स्थानीय जनप्रतिनिधिले हेलिकोप्टरबाट उद्धारका लागि पहल गरिदिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग आग्रह गरेका थिए । उपराष्ट्रपतिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएपछि सुत्केरी महिलाको उद्धारका लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको थियो।

स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि मानिकलाई घरमै राखिएको थियो । ‘उहाँलाई हिजोदेखि बेथा लागे पनि बच्चा जन्माउन सक्नु भएन, उहाँको ज्यान नै जोखिममा पर्यो,’ पुथाउत्तरगंगा गाउँपालिका ६ का अध्यक्ष टोपबहादुर सेनले भने, ‘स्वास्थ्य चौकी लैजान पनि स्वास्थ्यकर्मी नै छैनन्, त्यहीं भएर उहाँको जीवन रक्षाका लागि हामीले उपराष्ट्रपतिज्यूमार्फत आग्रह गर्यौँ । हेलिकोप्टरले सुत्केरीको उद्वार गरेर नेपालगञ्ज लगेको छ ।’
उनले विरामी बोल्नै नसक्ने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement