सहकारी नियन्त्रण नगर्ने हो भने २ वर्षपछि भयानक दुर्घटनाको संकेत : मन्त्री अर्याल


काठमाडौं—भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छिन्।  स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुदै गएको बताइन्।तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने उनकाे भनाइ छ।  ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भनिन् , ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’

आजको धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि बनाएर नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन्। “संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपछै,’ उनले भनिन्।

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले  सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन।  ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उनले भनिन्,  ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले

केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौ ।’ मन्त्री अर्यालले सचेत हुनुपर्ने अवस्था आएको बताइन्।

एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने उनको भनाइ थियो । सहकारी कर्जा कोष यस अघि नै भाषण धेरैपटक भएपनि अब व्यवहारमै लागु हुनेगरी कार्यान्वयन गरिने उनले बताइन्।  नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउदै त्यमार्फत अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने बताइन्। ‘सिस्टम सफ्टवेरले एउटा सहकारी संस्थामा बदमासी गरेर त्यहाँ पुरै गिरेर पतित भएर ठाउँ परिवर्तन गरेर फेरी सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृतिको अन्त्य हुन्छ’, उनले भनिन्।

मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम भइरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुनेगरी काम सम्पन्न गरिने बताइन्। त्यस अवसरमा मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाख सहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement