नेयमारले आफुमाथि लागेको आरोपको खण्डन गर्दै सार्वजनिक गरे आपत्तिजनक म्यासेज


एजेन्सी – ब्राजिलियन फुटबल स्टार नेमारले आफूमाथि लागेको बलात्कारको आरोपबारे मुख खोलेका छन् । उनले आफूमाथि लागेको यौन शोषणको आरोप झुठो भएको इन्स्टाग्राम भिडियोमार्फत बताएका छन् ।

हाल फ्रान्सको पिएसजीबाट खेल्ने नेमारले फ्रान्सको राजधानी पेरिसमा एक ब्राजिलियन महिलामाथि बलात्कार गरेको भनेर प्रहरीमा उजुरी दर्ता भएको छ ।

नाम नखुलाइएको महिलाले ब्राजिलको साओ पाउलो प्रहरीमा नेमारले आफूमाथि बलात्कार गरेकोभन्दै उजुरी दर्ता गरेकी हुन् ।

प्रहरीका अनुसार नेमार र ती महिला इन्स्टाग्राममार्फत भेटेका थिए । ब्राजिलकी ती महिलालाई नेमारले पेरिस आउन भनेका थिए । विमानको टिकटसमेत नेमारले नै काटिदिएका थिए।

फ्रान्सको होटल सोफिटेल पेरिस आर्क डु ट्रोम्फीमा उनीहरु १५ मेमा बसेका थिए । त्यसैबेला मदिराले मात्तिएका नेमारले उनलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

नेमारका पिता नेमार दोस सान्तोषले महिलाको बयानले नै यो घटना नेमारलाई फसाउन गरिएको बताएका छन् ।

यसो भन्छन् नेयमार

नेमारले इन्स्टाग्राम भिडियोमा भनेका छन, ‘म ती महिलासँग भएको सारा म्यासेज आज सार्वजनिक गर्दैछु ।’

उनले भिडियोमै सारा म्यासेजहरु देखाएका छन् । भिडियोमा ती महिलाले नेमारलाई अश्लिल भिडियो तथा नग्न तस्बीरहरु पठाएको देखिन्छ ।

नेमारले आफूमाथि लागेको बलात्कारको आरोप झुठो भएको बताएका छन् । ‘यो पासोमा पारिएको हो । यसले भविष्यमा सचेत हुन मलाई मदत गरेको छ ।’ नेमारले भिडियोमा भनेका छन् ।

भिडियो सार्वजनिक गर्नु अगाडि नेमारले भनेका थिए, ‘प्रकाशित भएका समाचारले नकरात्मक परिस्थितीको सृजना गरिदिएको छ । म यस आरोपको खण्डन गर्दछु, यो अन्यायपूर्ण आरोप हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement