काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले बंगालको खाडीबाट उत्पन्न न्यूनचापीय वायुको प्रभावका कारण असोज ८ देखि १२ गतेसम्म नेपालका धेरैजसो भूभागमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको अपिललाई गम्भीरतापूर्वक जानकारीमा लिएको जनाउँदै आयोगले भारी वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने सम्भावना रहेकाले थप सतर्कता आवश्यक रहेको आयोगले जनाएको छ ।
आयोगले विपद्को पूर्वसन्ध्यामा विपद् प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि राज्यका निकायलाई विशेष ध्यान दिन आग्रह गरेको छ । सम्बन्धित सम्पूर्ण निकायले समयमै सही सूचना प्रवाह गर्न, जोखिम क्षेत्र पहिचान गरी उच्च सुरक्षा सतर्कता अपनाउन तथा पूर्वतयारी र विपद् प्रतिकार्यलाई प्राथमिकता दिन आयोगले सरकारलाई निर्देशन दिएको छ ।
विपद् प्रतिकार्यका लागि पर्याप्त स्रोत, साधन तथा सामग्रीको व्यवस्था गर्नसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।
आयोगले सर्वसाधारणलाई नेपाल सरकारका आधिकारिक निकायबाट जारी सूचना तथा अनुरोधलाई गम्भीरतापूर्वक लिन अपिल गरेको छ । अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र आधिकारिक स्रोतबाट जारी सूचना मात्र अरूलाई सम्प्रेषण गर्न आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।





प्रतिक्रिया